काठमाडौं : २०५५ सालको पुस महिना । काठमाडौंको न्युरोडस्थित ‘स्टुडियो–७’को एक कोठा । पाँच जना पुरुषबीच उभिन्छिन् १६ वर्षकी किशोरी । मनमा डर, डरसँगै लाज पनि मिसिँदा अनुहार रातोपिरो । आँखा अगाडि माइक्रोफोन । पर्दा पारिबाट आवाज आउँछ– ‘सुरु गर ।’ ढुक्ढुकीको गति चर्किन्छ, ओठ सुक्छन्, बोली बन्द । स्वर कहाँबाट निकाल्नु ? त्यस डरलाई ‘बिरामी छु’ भन्ने बहानामा लुकाउँदै उनी त्यस दिन भोलि गाउने बाचासहित स्टुडियोबाट बाहिरिन्छिन् ।
भोलिपल्ट फेरि स्टुडियो फर्किन्छिन्, यो पटक साथी मुना गिरीलाई लिएर । साथीको साथले हिम्मत् आउँछ । बोल्न नसकेको स्वर अन्ततः ओठबाट निस्कन्छ– ‘ओठले तिमीलाई बोलाउँदिन म, आँखाको भाका मेरो बुझिदेऊ न ।’ र, यहीँबाट सुरु हुन्छ रश्मी भट्टको सांगीतिक यात्राले अभिनयको दुनियाँसम्म पुग्ने कथा ।
२७ वर्षअघिको त्यस्तो क्षण र आफ्नो व्यवहार सम्झिएर छक्क पर्छिन् रश्मी । नेपाली गीत, चलचित्र र टेलिचलचित्रको क्षेत्रमा चर्चा कमाएर नेपालको मनोरञ्जन क्षेत्रलाई अगाडि बढाउन योगदान दिन सक्छु जस्तो उनलाई लागेकै थिएन । न त लागेको थियो, गायनबाट सुरु गरेको कलाकारिता अभिनयमा परिणत भएर आफ्नो ‘प्राण’ बन्ला ।
‘केटाहरूको संगतले केटी मान्छे बिग्रिन्छन्, कुम जुधाएर हिँडे गर्भवती भइन्छ भन्ने सोचाइ । त्यस्तै होला लाग्थ्यो । त्यही भएर पहिलो गीत रेकर्ड गर्न जाँदा सक्दै नसकेर पछि साथी लिएर गएँ । लागेकै थिएन यहाँसम्म आइपुग्छु,’ उनले आफ्नो विगत सुनाइन् । अनौपचारिकरूपमा भने उनी सानैबाट गायनमा जोडिएकी थिइन् ।
भक्तपुरमा जन्मिएकी रश्मीका एक जना काका मात्रै कलाकारिता क्षेत्रमा थिए । परिवारका अन्य कसैको कलाकारिताप्रति लगाव थिएन । तर रश्मी सानैबाट गीत गाउन खप्पिस थिइन् । स्कुलका गायन प्रतियोगिता, विभिन्न कार्यक्रममा भाग लिइरहने उनलाई अभिनय गर्न पनि उत्तिकै मन पथ्र्यो, तर मौका भने जुरेको थिएन ।
कक्षा १० सकिएपछि उनलाई स्टेज् कार्यक्रममा गीत गाउने मौका मिल्यो । गीतसँगै उनको शारीरिक हाउभाउ या भनौं समग्र प्रस्तुतिका कारण उनलाई अभिनयको अफर आयो । उनले नाइ भनिनन् । सानातिना भूमिकामा काम गर्दागर्दै उनले २०४७ सालमा ‘मायाको जाल’ नामक गीति चलचित्रमा साराङ्गा श्रेष्ठको साथीका रूपमा अभिनय गर्ने अवसर पाइन् । सोही चलचित्रमा साराङ्गाले बुबाको मृत्यु भएको ‘सिन’मा गरेको अभिनय रश्मीको मानसपटलमा सधैंका लागि प्रेरणा बनेर बस्यो र उनको अभिनयप्रतिको मोह बढ्यो ।
‘साराङ्गाको बुबाको डेथ भएको हुन्छ । आँगनभरि मान्छे । साराङ्गा चाहिँ पढेर आउँदा भिड पन्छ्याएर आउने अनि बाबा भन्दै रोएको त्यो सिन चाहिँ मेरो मस्तिष्कमा ताजा छ । त्यो रोलको इम्प्रेसन राम्रो पर्यो,’ उनले सुरुवाती दिन सम्झिइन् ।
नेपाली चलचित्रकी आमा
रश्मीलाई मुख्य अभिनेत्रीको भूमिकामा अभिनय गर्ने प्रस्ताव पनि नआएका होइनन् । तर भावुक तथा दयालु भूमिकामा उनी आफूलाई बाँध्न चाहन्थिन् । यसैले उनले आमाको भूमिकामा अभिनय गर्न थालिन् । केही समय आमाकै भूमिका निभाउन पनि उनलाई गाह्रो परेको थियो । तर आफू आमा बनेपछि भने उनलाई सजिलो भयो । भन्छिन्, ‘अभिनय गर्न नसकिएको त होइन, तर आमाको रोललाई जीवन्त बनाउन आफैं आमा बन्नुपर्ने रहेछ । आमा बनेपछि बच्चासँग कसरी बोल्ने जानिने रहेछ । होर बाबा, नानु यस्तो भन्नै नआउने आमा नबन्दासम्म त ।’
यसरी उनले गरेको आमाको भूमिका नेपाली चलचित्र निर्माता र दर्शकका लागि लोकप्रिय बन्दै गयो । अहिले उनी नेपाली चलचित्र मात्र नभइ टेलिचलचित्रहरूमा पनि आफूलाई आमाकै रूपमा उभ्याइरहेकी छन् । उनी नेपाली चलचित्रकी आमाको रूपमा परिचित पनि छिन् । आमाकै भूमिकाका कारण आफ्नो अभिनय क्षेत्र मूर्त र दीर्घ बनेको पनि उनको बुझाइ छ । आफ्ना लागि आमाको भूमिकाबाट बाहिर आउनु शरीरबाट प्राण निकाले जस्तै रहेको उनी बताउँछिन् । ‘अभिनय मेरो प्राण हो र आमाको अभिनयबाट टाढा हुनु मेरो शरीरबाट प्राण निकाले जस्तै हो,’ उनी भन्छिन् ।
मिहिनेत र धैर्यताले दिलाएको सफलता
१५ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी रश्मी व्यस्त कलाकारमध्येकी एक हुन् । २०४७ सालदेखिको मिहिनेतले अभिनयलाई चलायमान बनाइरहिन् । लामो समय टिकिरहन धैर्यता पनि उत्तिकै आवश्यक हुने उनको बुझाइ छ । ‘सानातिना रोलबाट सुरु गरेको, तर आमाकै रोलबाट चिनिरहें र गरिरहें । धेरैले एउटै रोल कति गरेको पनि भने । तर मलाई यसैमा सन्तुष्टि मिल्यो । कसैको कुरा नसुनी धैर्य गरेरै एउटै रोल गरें, चिनिएँ पनि,’ रश्मीले खुसी साटिन् । अबका दिनमा पनि यही भूमिकाबाटै अघि बढ्ने उनको इच्छा छ ।
अभिनयको क्षेत्रमा काम गरिरहँदा कतिपय परिस्थितिमा आफूलाई नराम्रो दृष्टिसमेत पर्ने भएकाले सही तरिकाबाट लाग्न, मान्छे चिनेर सहकार्य गर्न नवकलाकारहरूलाई उनको सुझाव छ । यसका साथै चर्चाकै लागि आफ्नो रुचीभन्दा बाहिर गएर अभिनय नगर्न पनि उनी सुझाउँछिन् । काम राम्रो गरे एक न एक दिन उचाईमा पुगिने उनको विश्वास छ । साथै आफूले गरिरहेको कामलाई सानो नसोची लागिरहन पनि उनी आग्रह गर्छिन् । पहिचान बनाउनका लागि मिहिनेत, धैर्यता, लगनशीलता र मोह पनि हुनुपर्ने उनको बुझाइ छ । भन्छिन्, ‘केही काम गरिराखेका छौं भने मिहिनेत, धैर्यता, लगनशीलता त चाहिन्छ नै तर त्यो कामप्रति क्रेज पनि चाहिन्छ । बल्ल त्यसलाई पर्फेक्ट बनाउन सकिन्छ ।’