
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्केका थिए । सो प्रकरणसँग जोडिएर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुधबार लामिछानेसँग ७ घण्टा लामो बयान लिएको छ ।
लामिछाने कसरी नख्खु कारागारबाट निस्किए भन्ने विषयमा कतिपयको आशंका र प्रश्न छ । लामिछाने कारागारबाट निस्किए पछि देशभर कारागारको गेट तोडेर कैदीबन्दी निस्कने र कारागारभित्र आगजनी गर्ने क्रम बढेको कतिपयको टिप्पणी रहँदै आएको छ । यो विषयमा जाँचबुझ आयोगका पदाधिकारीहरूले लामिछानेसँग ७ घण्टा लामो बयान लिएका हुन् ।
बयानका लागि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा लगिएको थियो । बयानपछि लामिछानेलाई कारागार नै फर्काइएको छ ।
बयान सकिएपछि उनले आफ्ना शुभचिन्तकसँग छोटो प्रतिक्रिया दिएका छन् । प्रहरीकै भ्यानभित्र रहेका उनलाई शुभचिन्तकले केही बोलिदिन आग्रह गरेका थिए । त्यसपछि उनले छोटो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘समय आउँदै छ ।’ तर कस्तो समय के भन्न खोजेको हो लामिछानेले व्याख्या गर्न पाएनन् ।
लामिछाने सहकारी ठगीको आरोपमा कारागारमा रहेका हुन् । ठगीको आरोप लागेका व्यक्ति जेनजी आन्दोलनका क्रममा जेलबाट बाहिर निस्किएको विषयलाई लिएर कतिपयले प्रश्न उठाउँदै आएका छन् । रास्वपाभित्रै पनि यो विषयलाई लिएर प्रश्न उठ्दै आएको छ ।
यस सन्दर्भमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग आयोगले जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान लिएको हो । रवि निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठ्दै आएको छ । प्रश्न उठेपछि लामिछाने पुनः कारागारमै फर्किए । यो घटनाको विषयमा आयोगको टोली यसअघि स्थलगत वस्तुस्थिति अध्ययनसमेत गरिसकेको छ । यसका लागि टोली कारागारमै पुगेको थियो । जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिइसकेको छ ।