काठमाडौं : देशभर मनसुन सक्रिय भइरहँदा मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
मधेशमा यसवर्ष पर्याप्त वर्षा नहुँदा त्यहाँको कृषि क्षेत्र प्रभावित भएको जनाउँदै मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । वातावरणीय असन्तुलनका कारण उत्पन्न खडेरीको अवस्थालाई मूल्यांकन गर्दै मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
मधेश सरकारले वातावरणीय धान रोपाइँ प्रभावित भएको, रोपिएका खेतमा समेत चिरा फाट्न थालेको र खडेरीले कृषि उत्पादन संकटमा पार्न थालेको अवस्था आएको निष्कर्ष निकालेको छ । सोही आधारमा मधेशलाई सुक्खाग्रस्त घोषणा गरिएको हो ।
पर्याप्त पानी नपरेपछि खडेरीको चपेटामा परेको छ भने अधिकांश उब्जाउ खेत बाँझो परेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार लगातारको खडेरीका कारण धान रोप्न समस्या भएको छ भने पहिले रोपिएको धान पनि चर्को घामले सुक्न थालेको छ । खेतबारी चिरा परेपछि स्थिति गम्भीर बन्दै गएपछि यस्तो निर्णय गरिएको मुख्यमन्त्री सिंहले बताए ।
उनले वर्षा अभावले मधेशका ७५ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको बताउँदै बोरिङको सिँचाइले रोपिएका धान पनि चिस्यान अभावले खेतमा चिरा पर्न थालेका छन् भने धानका ब्याड पनि सुक्न थालेको जनाए ।
न्यून रोपाइँ
शुक्रबारसम्म मधेश प्रदेशमा ३३ दशमलव ७८ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीपकुमार यादवका अनुसार मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको ३ लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । जसमध्ये १ लाख २५ हजार ८८८ दशमलव ६ हेक्टर, अर्थात् ३३ प्रतिशत जमिनमा रोपाइँ भइसकेको छ ।
मधेशमा सबैभन्दा कम रोपाइँ सप्तरीमा भएको छ । सप्तरीमा ८१ हजार ६६८ हेक्टर कुल खेतीयोग्य जमिन छ । जसमध्ये ६८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ । तर, हालसम्म १६ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ । त्यसैगरी सबैभन्दा बढी रोपाइँ पर्सामा भएको छ । पर्सामा ३९ हजार ७३१ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । त्यसमध्ये ७३ दशमलव ३४ प्रतिशत जमिनमा धान रोपाइँ भइसकेको छ ।
धनुषामा २५ प्रतिशत, सिरहामा २९, बारामा ४०, रौतहटमा ४५, सर्लाहीमा ४० र महोत्तरीमा १८ प्रतिशत जमिनमा धान रोपाइँ भइसकेको छ । मधेशमा कुल ५ लाख ४२ हजार ५८० दशमलव ७८ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती हुँदै आएको छ । तर, २५ प्रतिशत जमिनमा पनि सिँचाइ नभएको अधिकृत यादवले बताए । ‘प्रमुख चुनौती नै सिँचाइ हो । सिँचाइ नभएसम्म किसानले रोपाइँ गर्न सक्दैनन् ।’
बजेट फ्रिज तर संघसँग सहयोग माग
बिहीबार बसेको मन्त्रिपरिषदले सुक्खाग्रस्त क्षेत्र घोषित मधेशका किसानहरूका लागि तत्काल राहत प्याकेजको आवश्यकता औँल्याउँदै संघीय सरकारसँग विशेष सहयोगको माग गरेको छ । यस्तै, कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
प्रदेशमा हरेक वर्ष ठूलो रकम फ्रिज हुँदै आएको छ । चालु आवमा सबभन्दा अधिक करिब ७१ प्रतिशत खर्च गर्दा पनि लगभग २९ प्रतिशत बजेट फ्रिज भएको छ । प्रदेश सरकार आफ्नो बजेट खर्च गर्न नसकेरसंघ सरकारसँग हात जोडेको छ ।
किसानलाई विशेष राहत प्याकेजका लागि संघलाई गुहार्ने गरेको निर्णयको आलोचना भइरहेको छ ।
सरकारका प्रवक्तासमेत रहेका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेश भने संकटमा परेको बताए । ‘नेपालमा जेठ १५ गते नै मनसुन भित्रिए पनि मधेश प्रदेशमा भने उल्लेख्य वर्षा भएको छैन’, उनले भने ।
रोपाइँ गर्ने बेलामा पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको मन्त्री लेखीले बताए । ‘पानी नपरेपछि यहाँका किसान पीडित छन् । किसानलाई के कस्तो राहत र सेवा सुविधा दिन सकिन्छ भनेर संघ सरकारलाई आग्रह गरेका छौं । पानी नपरेपछि धान रोप्न मात्र नपाएको होइन, अन्य बाली पनि सप्रेको छैन’, मन्त्री लेखीले भने ।
आकाशे पानीको आस
मधेशका किसानलाई ३ वर्षअघिसम्म धान रोपाइँ गर्न कुनै समस्या थिएन । खेत छेउमै नहर भएको हुँदा असार मसान्तभित्रै धान रोपाइँ सक्थे । तर, ३ वर्ष यता धान रोपाइँ किसानहरूका लागि निकै टाउको दुखाइ बनेको छ । कारण, खेत छेउमै रहेको नहरमा अब पानी आउँदैन ।
मधेशमा खेती रोपाइँ गर्न सक्ने जति पानी परेकै छैन । ‘अब त आकाशे पानीकै आस छ । वर्षा नभए खेत बाँझै रहन्छ,’ महोत्तरी लोहारपट्टी नगरपालिका–७, भ्रमरपुराका किसान रामएकवाल ठाकुरले भने । ‘बिउ तयार छ, पानी नहुँदा बिउ पनि डढ्न थालेको छ ।’ वर्षौंदेखि किसानको सिँचाइ, मल र बिउको समस्या भएपनि सरकारले ध्यान नदिएको उनको गुनासो छ ।
सरकारले ७० प्रतिशत जमिनमा सिँचाइ भएको दाबी गरे पनि वास्तविकतामा ३० प्रतिशत जमिनमा मात्रै सिँचाइ रहेको धानबाली विज्ञ डा. रामवरण यादवले बताए । ‘यहाँको किसान सधैँ आकाशे पानीकै भरमा छ । यसपटक अहिलेसम्म राम्ररी पानी परेको छैन त्यही भएर रोपाइँ हुन सकेको छैन’, उनले भने ।