२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

निशानामा झाँक्री

shivam cement
जीवन शर्मा
२०८२ असार २४ गते ०६:३०
निशानामा झाँक्री

काठमाडौं : पछिल्लो एक वर्षयता रामकुमारी झाँक्रीका गतिविधिहरूले उनी नेकपा (एमाले)का नेताहरूसँग नजिकिएको र फेरि एमालेमै फर्किन सक्ने सम्भावनाबारे नेकपा (एकीकृत समाजवादी) भित्र छलफल चल्न थालेको छ ।

एमाले विभाजनपछि विक्षिप्त बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई हात समातेर निर्वाचन आयोगसम्म पु¥याई पार्टी दर्ताको मुख्य भूमिका निर्वाह गरेकी पूर्वसचिव झाँक्री अहिले आफ्नै नेतृत्वको निशानामा परेकी छन् ।

पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाको सन्दर्भमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएकी झाँक्री, सो अभिव्यक्तिका कारण अध्यक्ष नेपालको आक्रोशको केन्द्र बनेकी हुन् ।

पार्टी स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी उनलाई अहिले पार्टीभित्रैबाट किनारा लगाउने प्रयास भइरहेको केही नेताहरूले बताएका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशतन्त्रविरुद्ध लडेकी झाँक्री लोकतन्त्रका लागि पार्टीभित्र र बाहिर निरन्तर आवाज उठाउँदै आएकी नेतृ हुन् ।

एमालेमै हुँदा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध उनले मुखमा टेप लगाएर विरोध जनाएकी थिइन् । संसद् विघटनको निर्णयमा समर्थन जनाएकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘महारानी’ भनी उनले आलोचना गरेकी थिइन् ।

२०७८ सालको भदौमा एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) मा संस्थापक सचिव रहेकी झाँक्रीले पछिल्लो समय पार्टी विभाजनको औचित्य पुष्टि हुने गरी नीति तथा कार्यक्रम बनाइनुपर्ने धारणा राख्दै आएकी छन् ।

उनको भनाइ छ, ‘विशिष्ट परिस्थितिमा एमालेबाट विभाजन त गर्‍यौं, तर अहिले नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि गर्नुपर्छ । एमालेलाई दुश्मनको रूपमा होइन, व्यवहारको आधारमा मूल्यांकन गर्नुपर्छ ।’ यस प्रकारका अभिव्यक्तिले उनी पार्टीभित्र आलोचना र घेराबन्दीको शिकार भएकी छन् ।

पार्टी फुट्दाका बेला ओलीविरुद्ध लडेर पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी झाँक्रीलाई २०७९ साल साउनमा सम्पन्न महाधिवेशनमा पार्टी नेतृत्वकै योजनाअनुसार उपाध्यक्ष पदमा हराइएको उनका निकट नेताहरूले आरोप लगाएका छन् ।

पछिल्लो एक वर्षा उनका गतिविधिले उनी एमाले नेतासँग निकट भएको र एमालेमै फर्किन सक्ने सम्भावनाबारे पनि पार्टीभित्र चर्चा हुने गरेको छ ।

झाँक्रीले पार्टी बलियो नबने, एकताको विकल्प खुला राख्नुपर्ने धारणा पनि राखेकी छन् । ‘कुनै व्यक्ति मन परेन भने पार्टीविरोधी भन्ने र अर्को पार्टीमा जाँदैछ भनेर आरोप लगाउने पुरानै चलन हो,’ उनी भन्छिन् ।

शनिबार, युवा संघ नेपालद्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव राख्दै भनेकी थिइन्, ‘अध्यक्षमाथि नै संकट देखिएको अवस्थामा सिनो बोकेर हिँड्न सकिन्न ।’

तर अध्यक्ष नेपाल, जो एमाले अध्यक्ष ओलीलाई सधैं ‘सदावहार विरोधी’ का रूपमा हेर्छन्, झाँक्रीको यस्तो धारणाबाट असन्तुष्ट छन् ।

विद्रोही स्वभावकी झाँक्री महाधिवेशनपछि पदाधिकारी बन्न नसकेकीले पार्टीभित्र निष्क्रिय जस्तै देखिएकी छन् । पार्टीले यस विषयमा उनलाई लिखित स्पष्टीकरण समेत मागिसकेको छ ।

आइतबारको सचिवालय बैठकमा पतञ्जली जग्गा प्रकरण र अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाबारे गम्भीर छलफल भएको थियो ।

बैठकमा नेताहरू मेटमणि चौधरी, शेरबहादुर कुँवर र राजेन्द्र राईले झाँक्रीलाई पार्टीबाट निष्कासन गर्नुपर्ने स्पष्ट माग राखेका थिए ।

तर, बेदुराम भुसाल, घनश्याम भुसाल र जयन्ती राईले कारबाही आवश्यक भए पनि निष्कासन अहिलेको लागि उचित नहुने तर्क गरेका थिए ।

नेकपा (एस) का एक पदाधिकारीका अनुसार महासचिव घनश्याम भुसालले झाँक्रीलाई अवसर दिनुपर्छ भन्ने धारणा राखेका थिए । ‘ कारबाही गर्न सकिन्छ तर निष्कासन आवश्यक छैन’, भुसालले बैठकमा भनेका थिए ।

झाँक्री २०५४ सालमा वामदेव गौतमसँग मिलेर नेकपा (माले) मा लागेकी थिइन् र २०५८ सालमा एमालेमा फर्किएकी थिइन् ।

२०६२–६३ को जनआन्दोलनमा विद्यार्थी नेतृको रूपमा काठमाडौंको अग्रपंक्तिमा सहभागी भई घाइतेसमेत भएकी थिइन् ।

२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि त्यसको सशक्त प्रतिवाद गर्ने नेतृ झाँक्री थिइन् ।

पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाललगायत नेतासँगै उनी अग्रपंक्तिमा उभिएकी थिइन् ।

२०७७ माघ २९ मा तत्कालीन राष्ट्रपति भण्डारीको कार्यशैलीमाथि टिप्पणी गरेपछि उनलाई ‘राज्यविरुद्धको कसुर’ मा पक्राउ गरिएको थियो । तर तीव्र आलोचना र दबाबपछि उनलाई सोही दिन रिहा गरिएको थियो ।

२०७८ असोजमा सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सहरी विकासमन्त्री बनेकी थिइन् ।

तर २०७९ असारमा, पार्टीले उनलाई मन्त्रीबाट फिर्ता बोलाएको थियो ।

गत प्रतिनिधिसभा चुनावमा झाँक्री गुल्मी–२ बाट उम्मेदवार बनेकी थिइन् तर एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन् ।

महाधिवेशनमा जयन्ती राईसँग पराजित भएपछि अहिले उनी स्थायी कमिटी सदस्यका रूपमा छिन् ।

झाँक्रीले आफूमाथि सञ्चारमाध्यममार्फत स्पष्टीकरण मागिएकोप्रति असन्तुष्टि पनि व्यक्त गरेकी छन् ।

पार्टीभित्र कारबाहीको अवस्था आउँदा केही नेताहरूले झाँक्री एमालेमै फर्कन तयार भएको बताएका छन् । धेरै नेताहरूले अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीको माग गरिरहेका छन् । तर, केही एमाले नेताहरूले झाँक्रीलाई स्वागत गर्न सक्ने बताए पनि एमाले नेतृत्वले तत्काल जिम्मेवारीसहित पार्टीमा स्वीकार्न सकिने अवस्था नरहेको जनाएको छ ।

झाँक्रीले हालसम्म एमाले फर्कने निर्णय गरिसकेकी छैनन् । तर उनले भनेकी छन्, ‘यदि एकीकृत समाजवादी बलियो बनाउन सकिएन भने एमालेसँग एकता गर्न सकिने विकल्प खुला राख्नुपर्छ ।’

पतञ्जली जग्गा प्रकरणले अध्यक्ष नेपालमाथि नैतिकताको प्रश्न उठाएको छ । तर, संसद्बाट निलम्बन भएका अध्यक्ष नेपालले आफू हट्नुको सट्टा झाँक्रीमाथि कारबाहीको तयारी थालेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise