२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

मिले आठ दल, निले माओवाद र जबज

shivam cement
मुकुन्द लामिछाने
२०८२ कार्तिक १७ गते ०६:४०
मिले आठ दल, निले माओवाद र जबज

काठमाडौं : कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गर्नेगरी आइतबार पेरिसडाँडामा १८ बुँदे सहमतिमा हस्ताक्षर गरिएको हो । सो सम्मेलनमा एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिको सहभागिता रहनेछ । सम्मेलनबाट पार्टी एकताको घोषणा गर्ने, घोषणापत्र र अन्तरिम विधान पारित गर्ने र केन्द्रीय समितिको गठनलगायतका काम हुनेछन् । एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साबिकका केन्द्रीय कमिटीलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय समिति गठन गरिने जनाइएको छ ।

एकीकृत दलको नाम भने टुंगो लागेको छैन । एकताका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रले माओवाद र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) भने छाडेका छन् । एकतापछि बन्ने दलले माक्र्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाएको छ । माओवादी केन्द्र नाम र सिद्धान्त दुवैमा माओवाद छोड्न सहमत भएपछि आठवटा दलबीच एकता हुन सकेको हो । तर एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले अहिले एकताका लागि उपयुक्त समय नभएको र माओवाद स्वीकार्न नसकिने भन्दै एकतालाई अस्वीकार गरेका हुन् । रोचक पक्ष, माओवादी केन्द्रभित्र माओवाद परित्याग गरेर जबजवादी बन्न नसकिने भन्दै पार्टी पुनर्गठनको तयारी भइरहेको छ । 

एकतापछि बन्ने नयाँ दलको चुनाव चिह्‍न तारा रहनेछ । प्रस्तावित चुनाव चिह्नले निर्वाचन आयोगबाट मान्यता पाउनुपर्नेहुन्छ । त्यस्तै, ६ महिनाभित्र एकता महाधिवेशन गरेर नेतृत्व चयन गरिनेछ । केन्द्रदेखि जिल्लासम्म संयोजक र सहसंयोजक मुख्य नेता हुनेछन् । सो पार्टीमा चार मुख्य संरचना हुनेछ, केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति । राजनीतिक वैचारिक मतभेदलाई छलफल गर्दै एकता महाधिवेशनबाट समाधान गर्ने सहमति भएको नेकपा एसका प्रवक्ता प्रकाश ज्वालाले बताए । यसअघि २०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्र एकता हुँदा पनि जबज र २१औं शताब्दीको जनवादलाई स्थगित गर्दै महाधिवेशनबाट टुंग्याउने भनिएको थियो । त्यतिबेला पार्टीको सिद्धान्त जनताको जनवाद भनिएकोमा अहिले माक्र्सवाद–लेनिनवाद भनिएको हो ।  

नेकपा एसले केन्द्रीय कमिटीबाट एकताको टुंगो लगाएसँगै शनिबार माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि छिट्टै एकता गर्ने निर्णय गरेको थियो । आइतबार माओवादी केन्द्रको मुख्यालयमा बसेको बैठकले एकताको सहमति गरेको हो । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् । 

एकताको सहमति गरेका मुख्य घटकहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लब नेतृत्वको नेकपा सग्लो भने नरहने भएका छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शनिबारको पदाधिकारी बैठकमा एकता स्थगित गर्न प्रस्ताव गरेका थिए । जबर्जस्ती एकता गरिए आफूले माओवादी केन्द्र पुनर्गठन गर्ने चेतावनीसमेत उनले दिएका छन् । एकीकृत समाजवादी विभाजन भइसकेको छ । पूर्वप्रधानमन्त्री एवं एसका सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसँगको एकतामा आफू नजाने बरु भिन्दै दल गठन गर्ने घोषणा गरिसकेका छन् । खनाल र महासचिव घनश्याम भुसालले शनिबार छुट्टै भेलासमेत गरेका थिए । सो समूहसमेत पुनः विभाजन भएको छ । रामकुमारी झाँक्री, किसन गुरुङ, डा वंशीधर मिश्रलगायतका नेताहरू माओवादीसँग एकतामा पनि नजाने र खनाल–भुसाल समूहमा पनि नबस्ने घोषणा गरिसकेका छन् । उनीहरू नेकपा एमालेमा फर्किने तयारीमा संवाद अघि बढाएका छन् । माओवादी केन्द्र र एसको एकता हुने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भावुक वक्तव्य जारी गर्दै आफ्नै घरमा फर्किन नेता कार्यकर्तालाई आह्वान गरेका थिए । एकता लम्बिँदा नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने र माओवादी केन्द्रका नेता कार्यकर्तालाई प्रभाकरले संगठित गर्ने जोखिम बढेपछि हतारहतार एकताको सहमति गरिएको हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर