
साउदी अरब : परदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार र सहयोगमा निरन्तर सक्रिय उपकारी नेपाली समूह साउदी अरेबियाले पुनः एक प्रेरणादायी सामाजिक कार्य गरेको छ । समूहले आर्थिक रूपमा कमजोर भई साउदी अरबमा अलपत्र परेका खोटाङका सुनिल राईलाई नेपाल फर्कनका लागि आवश्यक हवाई टिकटको व्यवस्था गरी सहयोग गरेको हो ।
सुनिल राई, जो केही समयदेखि साउदी अरबमा समस्यामा परि नेपाली राजदूतावास, रियादमार्फत एक्जिट प्रक्रियामा थिए, आर्थिक अभावका कारण स्वदेश फर्कन सकेका थिएनन् । त्यही समयमा उपकारी नेपाली समुहको पहलमार्फत उनलाई स्वदेश फर्कन सहयोग गरिएको समूहका प्रतिनिधि बासुदेव सापकोटाले जानकारी दिए । सापकोटाले भने, ‘ साउदी अरबमा पिडामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको उद्धार र सहयोग हाम्रो निरन्तर अभियान हो । सुनिल राईज्यूको स्वदेश फर्कने यात्रामा सघाउन पाउनु हाम्रो सामाजिक जिम्मेवारी र गर्वको विषय हो ।”
राजदूतावासको अनुरोधअनुसार गरिएको यो सहयोगले सुनिल राईलाई आफ्नो परिवारसँग पुनर्मिलनको अवसर दिलाएको छ । यस्ता मानवीय सहकार्यले विदेशमा समस्यामा परेका अन्य नेपालीहरूलाई पनि नयाँ आशा र हौसला प्रदान गर्ने समूहले विश्वास व्यक्त गरेको छ ।
उपकारी नेपाली समूह साउदी अरेबियाले सुनिल राईलाई सुखद यात्रा र उज्वल भविष्यको शुभकामना दिंदै, उक्त सहयोगमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान पुर्याउने सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।