२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

पृथ्वीसुब्बा गुरुङ : छुच्चो सुनिन्छन् तर झुटो होइन

Nada
भावना पाठक
२०८१ मंसिर २९ गते ०६:५०
Shares
पृथ्वीसुब्बा गुरुङ : छुच्चो सुनिन्छन् तर झुटो होइन

काठमाडौं : गत वर्ष सम्पन्न नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनका क्रममा पोखरामा लागेको एउटा नारालाई धेरैले चासोका साथ हेरेका थिए । त्यसबेला एमाले युवाहरूले लगाएको नारा थियो– ‘केपी ओलीपछि गण्डकीमा पीएस गुरुङ हाम्रा बा !’

ncell

एमाले उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङको सम्मानमा यस्तो नारा युवाहरूले लगाउनुमा गण्डकी प्रदेश अधिवेशनको नतिजा कारण थियो । पहिलो पटक सम्पन्न एमाले गण्डकी प्रदेशको अध्यक्षमा पीएसको साथ पाएका नवराज शर्माले जितेका थिए । 

इतर समूहका उम्मेदवारलाई हराएर शर्माले एमाले प्रदेश अध्यक्ष जित्दा पीएस गुरुङलाई ओलीपछिका नेता भनेर प्रचार गरिएको थियो । यद्यपि, यस्तो नारा र प्रचारको चाहना गुरुङले राखेका पाइँदैन । उनी त सधैं कम्युनिस्ट पार्टीका सदस्यहरूमा ‘कमरेडको भावना’ हुनुपर्ने सार्वजनिक अडान लिन्छन् । 

उनै उपमहासचिव गुरुङ अहिले सरकारका प्रवक्तासहित संचार तथा सूचना प्रविधिमन्त्री छन् । र, प्रधानमन्त्री छन्, एमाले अध्यक्ष केपी शर्मा ओली । 

अर्थात्, ओली नेतृत्व सरकारले गरेका कामकारबाहीको प्रचार गर्ने विभागीय जिम्मेवारीमा छन्, पीएस गुरुङ । विभागीय जिम्मेवारी भएकाले सरकारले गरेका निर्णयहरू सार्वजनिक गर्नेदेखि सरकारप्रति उठ्ने प्रश्नको जबाफ उनैले दिनुपर्ने छ । 

मन्त्री गुरुङ सरकारको औपचारिक निर्णय सुनाएर भन्दा पनि आफ्नै अडान र अभिव्यक्तिका कारण चर्चामा छन् । विशेषगरी सार्वजनिक सम्बोधन र मिडिया अन्तर्वार्तामा दिएको शब्दका कारण कतिपयले उनको आलोचना गरेका छन् । तर, आफ्नो अभिव्यक्तिप्रति मन्त्री गुरुङ अडिग छन् । खुलेर उनको विरोध गर्ने पंक्ति खासै देखिँदैन । 

त्यसैले चर्चामा रहने अभिव्यक्तिकै कारण मन्त्री गुरुङलाई ठूलो प्रभाव परेको देखिँदैन । यसको कारण भने पीएस गुरुङको खरो (कतिपयले मर्यादा बिर्सेको पनि भन्छन्) शब्दभित्र लुकेको बलियो तर्क हो । सँगै जस्तोसुकै परिस्थितिमा पनि राजनीतिक परिवर्तन र सैद्धान्तिक विषयमा सम्झौता नगर्ने मन्त्री गुरुङको पृष्ठभूमि हो । 

जस्तो कि गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा गुरुङले पार्टीका केन्द्रीय नेताहरूप्रति नै सार्वजनिक असन्तुष्टि जनाएका थिए । पोखरामा मुख्यमन्त्रीहरूको भेला गरेरै संघीयता कार्यान्वयनलाई गति दिने प्रयास गरेका थिए । २०७२ सालको संविधान संस्थागत गर्न यसका मूल अन्तर्वस्तुहरू संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता विषयमा उनी सम्झौतारहित अडान र अभिव्यक्ति दिँदै आएका छन् । 

समावेशी समानुपातिक प्रणाली संविधानमा समावेश गराउन मन्त्री गुरुङले नेतृत्वकारी (आदिवासी जनजाति ककसको संयोजक भएरै) भूमिका खेलेका थिए । पार्टीभित्र र बाहिर पनि समावेशिता, धर्मनिरपेक्षता र गणतन्त्रप्रति सम्झौतारहित अडान लिन मन्त्री गुरुङ कति पनि हिच्किचाएका देखिँदैन । 

संघीयता कार्यान्वयनका सन्दर्भमा मन्त्री गुरुङले प्रहरी नेतृत्वप्रति दिएको अभिव्यक्तिलाई धेरैले उनको यस्तै पृष्ठभूमिसँग जोडेर हेरेका पाइन्छ, जसले गर्दा उनको अभिव्यक्ति चर्चामा रहने तर त्यसले खासै असर नपर्ने अवस्था छ । 

अर्थात्, खरो बोलीले चर्चामा आए पनि ‘झुटो र व्यक्तिगत/पार्टीगत स्वार्थमा’ नबोलेको बुझाइले मन्त्री गुरुङ एउटा छबिसहित राष्ट्रिय राजनीतिमा देखिन्छन् । उनलाई लागेको कुरा नढाँटी भन्नु अर्को विशेषता देखिन्छ । 

जस्तो ः केही दिन अगाडि उनले मन्त्री चयन गर्दा विषयगत ज्ञानलाई नजर अन्दाज गरिने नेपाली राजनीतिको प्रवृत्तिबारे बोलेका थिए । भनेका थिए, ‘खेलकुदको ख नबुझ्ने खेलकुदमन्त्री, संचारबारे धेरै जानकारी नभएको म संचारमन्त्री ।’ 

कतिपयले यो अभिव्यक्तिलाई गैरजिम्मेवार पनि भने तर राजनीतिक संस्कार बदल्नुपर्छ भन्ने मन्त्री गुरुङ अभिव्यक्तिको नियत बुझेकाहरूले त्यस्तो विरोध गरेनन् । यसले मन्त्री गुरुङ खरो स्वभावमा अभिव्यक्त हुने तर झुटो नबोल्ने नेताका रूपमा देखिन्छन् ।

परिर्वतनका पक्षपाती

लमजुङको तत्कालीन गिलङु गाविस– ८, टक्सारमा २०१४ सालमा जन्मिएका गुरुङले २०२७ सालदेखि नै राजनीतिक यात्रा सुरु गरेका थिए । त्यो पञ्चायतकै समयमा उनी ईशानेश्वर प्रमोद हाइस्कुलमा अनेरास्ववियूका तर्फबाट स्ववियु सचिव निर्वाचित भएका थिए । 

२०३४ सालदेखि त उनी सक्रिय राजनीतिमै होमिए । २०३७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाए । विज्ञानमा स्नातक गरेका गुरुङ विद्यार्थी राजनीतिपछि शिक्षक संगठनमा आवद्ध भएका थिए । २०४० सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष निर्वाचित भएका उनी बारम्बार पञ्चायतको निशानामा परे । 

पञ्चायतविरोधी आवाज उठाएकैले पटकपटक जेल जीवन बिताउनुप¥यो । पञ्चायतको अन्त्यपछि उनको राजनीतिक आयतन झनै बढ्यो । 

देशभर माओवादीको लहर आएको २०६४ सालमै पनि गुरुङले संविधानसभा सदस्य जितेका थिए । लमजुङ– २ बाट उनी १९ हजार ५८३ मत ल्याएर संविधानसभा सदस्य निर्वाचित भएका थिए । 

यो चुनाव जितिरहँदा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला शक्तिशाली प्रधानमन्त्री थिए । त्यही सरकारमा गुरुङ मन्त्री थिए । 

संविधानसभापछि सरकार फेरिँदा गुरुङ मन्त्री रहेनन् तर संविधानसभा सदस्यका हैसियतमा संविधानमा अग्रगामी अन्तर्वस्तुहरू समावेश गर्न नेतृत्वदायी भूमिका खेले । भलै, त्यो संविधानसभाले संविधान जारी गर्न सकेन । तर, २०७० सालको दोस्रो संविधानसभाले अघिल्लो संविधानसभामा जुटेका सहमतिहरूलाई स्वीकारेकाले २०७२ सालको संविधानमा गुरुङको हिस्सेदारी छ । 

२०७४ सालको चुनावपछि त उनी संघीयता कार्यान्वयनको भूमिकामा लागे । उनी २ फागुन २०७४ मा गण्डकी प्रदेशका मुख्यमन्त्री भए ।

ताजा खबर

सम्बन्धित खबर