२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

पत्रकारिताको जग बलियो बनाउन महानगर सहयोग गर्न तयार छ : महानगर प्रमुख सिंह

Nada
आबिद हुसेन
२०८१ असार ६ गते १७:३८
Shares
पत्रकारिताको जग बलियो बनाउन महानगर सहयोग गर्न तयार छ : महानगर प्रमुख सिंह

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पत्रकारिताको जग बलियो बनाउन महानगर सधैं सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीबारदेखि शुरु भएको तीनदिने आम सञ्चारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले पत्रकारको क्षमता वृद्धिका लागि सहयोग गर्न महानगर सधैं तयार रहेको बताएका हुन् । 

ncell

मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उनले वीरगञ्जको पहिचान वृद्धि गर्ने गरी समाचार सामग्री पस्कन आग्रह गरे । कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागिपर्नुपर्नेमा उनले जोड दिए ।

काम गर्दा त्रुटि भए सुधार गर्न आफू जहिल्यै पनि तयार रहेको भन्दै उनले गरेका काममा खोँचे थाप्नु भन्दा त्रुटि औंल्याएर सच्चिने वातावरण बनाउन पत्रकारहरुले कलम चलाउनु उचित हुने बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झाले अहिले राम्रा र मिहिनेती पत्रकारको खाँचो रहेको बताए । सञ्चारकर्मीको काम सही बाटो देखाउने रहेको भन्दै उनले कहिल्यै पनि विरोधी जसरी प्रस्तुत हुन नहुने बताए । उनले भने, ‘सञ्चारकर्मीको काम बाटो देखाउने हो, विरोधीको रुपमा प्रस्तुत हुने होइन, बरु समालोचक बन्ने हो ।’

कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि महानगरले गरेको सहयोगको प्रशंसा गरे । महानगरपालिकाको आम सञ्चार प्रवर्द्धन समितिका संयोजक ध्रुव अधिकारीले पर्सेली पत्रकारितालाई मजबुत बनाउन महानगरपालिकाले ठूलो लगानी गरिरहेको बताए । पत्रकारको क्षमता अभिवृद्धि, ज्येष्ठ पत्रकार पेन्सन योजना, पत्रकार विपत् कोष, लोककल्याणकारी विज्ञापन वितरण तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गरेर यहाँका पत्रकारहरुलाई मजबुत बनाउने काम महानगरले गरिरहेको उनको भनाइ थियो ।

मधेश खबरका सञ्चालक क्रान्ति साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्याम सर्राफले गरेका थिए भने सञ्चारकर्मी माधुरी महतोको स्वागत मन्तव्य रहेको थियो । मधेश खबर मल्टिमिडिया प्रा.लि.को आयोजनामा शुरु भएको प्रशिक्षण कार्यक्रममा यहाँका विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।

सम्बन्धित खबर