२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

रेशनल ओभरसिजले कतारमा बिचल्ली बनाएका पीडितको अवस्था उस्तै

तिलु शर्मा पौडेल
२०८१ असोज ८ गते ०६:५०
रेशनल ओभरसिजले कतारमा बिचल्ली बनाएका पीडितको अवस्था उस्तै

दोहा, कतार : कतारका लागि नेपाली कार्यवाहक राजदूत कुमार राईले कतार ल्याएर श्रमिकलाई बिचल्ली पार्ने रेशनल ओभरसिज प्रा.लि.का सञ्चालक लोकेन्द्र बहादुर कार्कीलाई हदैसम्मको कारबाही गर्न आफूले निर्देशन दिइसकेको बताएका छन् । नेपाली दूतावासमा शनिबार साँझ आयोजित एक कार्यक्रममा आफ्ना भनाइहरू राख्ने क्रममा राईले उक्त कुरा बताएका हुन् ।

रेशनल ओभरसिज प्रा.लि.लाई मोटो रकम बुझाएर जलजला रिक्रुटमेन्ट प्रा.लि.मार्फत श्रम सम्झौता गरेर कतार आएका पाँच जना दोहाको मन्सुरामा र एक जना सनैयामा बिचल्लीमा परेका छन् । तोकिएको तलब तथा सुविधा नदिएको र न्यूनतम तलबमा काम गर्न दबाब दिने, कतारी आइडी पनि नलगाइदिने र विभिन्न धाक धम्की दिने गरेपछि पीडितहरूले गत हप्ता आइतबार दूतावास पुगेर सञ्चालक कार्कीविरुद्ध उजुरी दिएका थिए ।

गत बुधबारसम्म समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका कार्की बिहीबार सम्पर्कमा आए पनि समस्या समाधान नगरेका कारण उनलाई थप कारबाहीका लागि बैदेशिक रोजगार विभागमा पत्र पठाउने अन्तिम तयारी गरिएको नियोगका श्रम काउन्सिलर टिकामणि न्यौपानेले मध्यान्ह दैनिकलाई  जानकारी दिए । उनले सोमबार पुनः पीडितहरू दूतावास आएको र आफूले जलजला रिक्रुटमेन्टलाई पीडितहरूलाई नेपाल फर्काउन अनुरोध गरेको बताउँदै केही दिनमा नेपाल फर्कने न्यौपानेले विश्वास व्यक्त गरे ।

पीडितहरूले रेशनलका संचालक कार्कीलाई मोबाइलमा सम्पर्क गर्दा सम्पर्कमा नआएको र श्रीमतीले समेत फोन विदेशी नागरिकलाई उठाउन दिने गरेको बताए । नेपाल फर्काउँछु भनेर जलजला म्यानपावरले आश्वासन दिए पनि अहिलेसम्म टिकट उपलब्ध नभएको पीडितमध्येका झापाका सुवास कार्कीले मध्यान्हलाई जानकारी दिए ।

‘लोकेन्द्रले अर्कै एक स्याङ्जाका नेपालीसँग भिसा लिएर जलजलालाई बेचेका रहेछन्, भिसा अर्कै नेपालीको कम्पनीको, किने  लोकेन्द्रले र आफ्नो म्यानपावरमार्फत जलजलालाई बेचे ।हामी तह–तहमा बेचियौं र ठगियौं,’ विशालले नयाँ रहस्य खोले ।

सिरहाका नीरज बस्नेत, झापाका विशाल कार्की, दोलखाका ताराबहादुर थापा, उदयपुरका सूर्यबहादुर बिक, सुनिल ठाकुर र गयानन्द चौधरी अलपत्र छन् । पीडितमध्ये सुनिल ठाकुरलाई कार्कीले कम्पनी छाडेर हिँडेको र सम्पर्कमा नभएको भनि ‘रन अवे’ केशसमेत हालेको  समाचार मध्यान्हले प्रमाणसहित गत साता नै सार्वजनिक गरिसकेको छ ।

खानाका लागि समेत समस्यामा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले गत बुधवार साँझ खाद्यान्न उपलब्ध गराएका थियो । एनसीसीले दिएको खानाले गुजारा चलाइरहेका पीडितलाई राष्ट्रिय मानव अधिकार समिति कतार, प्रवासी नेपाली समन्वय समितिमा रहेका हमिद खानले थप एक हप्ताका लागि शनिबार साँझ खाना उपलब्ध गराएका छन् ।

ADV

सम्बन्धित खबर