२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म ढुवानी

मध्यान्ह
२०८१ असोज २ गते १०:४६
भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म ढुवानी

भोजपुर : पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।

खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ ।

अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए ।

उनले भने, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।”

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरू पनि छन् । पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राईले त्यसैमध्येको एक हुन् ।

दश वर्षभन्दा बढी वैदेशिक रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन्। राईले गाउँमै ध्रुव कृषि तथा पशुपालन फर्म खोलेर व्यावसायिक रूपमा कृषि कर्म गर्दै आएका हुन् ।

“वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ”, राईले भने ।

रु दुई लाख खर्च गरेर दुई हजार पाँच सय बिरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ। यसअघि मकै, कोदो, आलुलगायतको खेती गर्नेहरू पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ ।

पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गरेकी मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताइन् ।

जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू-भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ ।

प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।

ADV

सम्बन्धित खबर