काठमाडौं : जैन धर्मावलम्बीहरुले आफ्नो मुख्य पर्व दशलक्षण १० दिनसम्म काठमाडौंमा मनाएका छन् । १००८ आदिनाथ दिगम्बर जैन मन्दिरले आयोजना गरेको १० दिने कार्यक्रममा भारतबाट आएका पावन सानिध्य एवम् निर्देशन पीठाधीश स्वस्ति सुरेन्द्रकीर्ति स्वामीले प्रवचन दिएका छन् ।
विश्वमा बढ्दै गएको अशान्ति, बेमेल, हत्या, हिंसाको अन्त्य गर्दै विश्व शान्ति, आपसी सद्भाव र सहिष्णुताका लागि महापर्वले जोड दिएको छ । यस पर्वमा अभिषेक एवम् शान्ति धारा, दशलक्षण, नित्य पूजा, महाआरती, शास्त्र प्रवचन, भक्ति दर्शन र सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिएको नेपालस्थित आदिनाथ दिगम्बर जैन मन्दिरका अध्यक्ष सुभाष जैन सेठीले मध्यान्हलाई जानकारी दिए ।
जैन धर्मावलम्बीहरुले पवित्र आत्माको शुद्धीकरणका लागि बिहानै नुहाएर चोखो खाएर मन्दिरमा भेला भइ कथा वाचनमा सहभागिता जनाउने गरेको अध्यक्ष सेठीले बताए । सेप्टेम्बर ८ तारिकदेखि शुरु भएको १० दिने पर्व मंगलबार सकिँदैछ ।
सेठी अध्यक्ष रहेको यस आदिनाथ दिगम्बर जैन मन्दिरको महासचिव राजेश जैन, कोषाध्यक्ष राजेश काला र सचिव संजय (गुड्डु) जैन हुन् । यस्तै सदस्यहरुमा प्रदीप जैन, अंकित सरावगी, राकेश जैन, संजय काला र प्रशान्त जैन रहेका छन् ।
राजधानीको कमलपोखरीस्थित जैन मन्दिर नेपालभर एक मात्र श्री १००८ दिगम्बर आदिनाथ जैन मन्दिर रहेको पनि अध्यक्ष सुभाष जैनले बताए ।