२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

माओवादीको अवरोधपछि प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्म स्थगित

मध्यान्ह
२०८१ भदौ २६ गते १४:४१
माओवादीको अवरोधपछि प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्म स्थगित

काठमाडौँ : नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । 

सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको थियो ।

सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । त्यसपछि एमाले सांसद रघुजी पन्तले बोल्ने पालो पाए । उनले माओवादीकै नेताहरूले संसदमा धेरै पटक हिंसा शब्द प्रयोग गर्ने गरेको बताए । यसपछि माओवादी र एमाले सांसदहरूबीच वादविवाद भएको थियो ।

सांसद पन्तले बोलेपछि माओवादी सांसद माधव सापकोटाले पनि यो बिषयमा बोल्न समय मागेका थिए । सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरू सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।

अबरोधकै बावजुद पनि सभामुखले सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए । पौडेलले विगतलाई बल्झाएर शान्ति प्रक्रिया बिथोल्न खोजेको भन्दै आपत्ति जनाए । संविधानसँग प्रतिकूल हुने शब्दको प्रयोगले राजनीतिक आन्दोलनको अवहेलना हुने उनको भनाइ छ ।

सभामुखले पुनः माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई नै बोल्न समय दिए । उनले सभामुखले योगेश भट्टराईको भाषणबाट हिंसा शब्द नहटाउने निर्णय पूर्वाग्रही रहेको बताए । त्यसपछि बोलेका एमाले सांसद महेश बर्तौलाले सभामुखले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । बैठक चलिरहँदा माओवादी सांसदहरुले संसद अवरोध गरिरहे ।

सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक पटक आग्रह गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादीको अडान राखिरह्यो । त्यसपछि सभामुखले अर्को बैठक भदौ ३० गते बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे ।

‘सभा सञ्चालन गर्न सहयोग गर्नु भएन । त्यसले गर्दा कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराउँछु,’ उनले भने, ‘अब अर्को बैठक भदौ ३० गते आइतबार दिनको एक बजे बस्ने गरी स्थगित हुन्छ।’ 

ADV

सम्बन्धित खबर