२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

‘सञ्चालकहरुको शेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

मध्यान्ह
२०८१ भदौ १८ गते २१:०७
‘सञ्चालकहरुको शेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

काठमाडौ : नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुको शेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाइ छ ।

‘शेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सबै शेयरधनी जस्तै सञ्चालकहरु पनि लगानीकर्ता नै रहेको र शेयरधनीहरुको साधारण सभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा उनीहरुमाथि यति कठोर भेदभाव गरिनु न्यायोचित नभएको जानकारी गराउँदछौ’, निर्जीवन बीमा व्यवसायीसंघको विज्ञप्तिमा भनिएको छ । 

संघका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मुल, महासचिव महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्ष रमेश निरौला एवं सदस्यहरु आजाद श्रेष्ठ र कुनाल कयल नेतृत्वको टोलीले धितोपत्र बोर्डका अध्यक्ष महेश बराललाई सो प्रावधान सच्याउनका लागि आग्रह समेत गरेको छ । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य शेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए । सञ्चालकहरुले अन्य शेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरुलाई बञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ । 

कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’

ADV

ताजा खबर

सम्बन्धित खबर