
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब पाँच महिना मात्रै बाँकी छ । प्रदेशसभाको कार्यकाल पनि आगामी मंसिरमा पूरा हुँदै छ । तर, निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा सरकारले अझै निर्णय लिन सकेको छैन । निर्वाचन आयोग र राजनीतिक दलहरू चुनावी तयारीमा जुट्न थाले पनि मिति तोक्ने जिम्मेवारी पाएको सरकार भने अलमलमै देखिन्छ ।
निर्वाचन आयोगले समयमै चुनाव गराउन आफू तयार रहेको बताउँदै राजनीतिक दलहरूसँग छलफल थालेको छ । आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख र प्रदेशसभाको मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ । तर, राजनीतिक दलहरूबीच निर्वाचन एकैपटक गर्ने कि अलग–अलग भन्नेमा मतैक्य छैन । नेपाली कांग्रेस र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी एकैपटक निर्वाचन गर्न सकिने पक्षमा देखिएका छन् भने एमाले र नेकपाले संविधान र कानुनको व्यवस्थालाई आधार बनाएर त्यसमा असहमति जनाएका छन् । यस्तोमा दुवै पक्षसँग आवश्यक छलफल गरेर सरकार टुंगोमा पुग्नुपर्छ । एक वर्षमा दुईपटक निर्वाचन गर्दा राज्यको ठुलो स्रोतसाधन खर्च हुन्छ । निर्वाचन आचारसंहिताका कारण विकास निर्माण र सरकारी कामकारबाहीसमेत प्रभावित हुन्छन् । मुलुक लामो समय चुनावी गतिविधिमा अल्झिरहँदा आर्थिक तथा प्रशासनिक कामले गति लिन सक्दैनन् । त्यसैले निर्वाचन खर्च घटाउने र राज्यको समय बचाउने गरी दुवै निर्वाचन एकैपटक गर्ने विकल्पमा बहस हुनुपर्छ । तर, खर्च घटाउने नाममा संविधान र कानुनको मर्म उल्लंघन गर्न मिल्दैन । स्थानीय तह र प्रदेशसभाको कार्यकाल पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ । यस्तोमा कार्यकाल सकिएपछि लागू हुने गरी आवश्यक कानुनी प्रबन्ध गरेर दुवै निर्वाचन एकैपटक गर्ने विकल्पमा भने गम्भीर छलफल गर्न सकिन्छ । यसका लागि आवश्यक कानुनी संशोधन र संवैधानिक व्यवस्थाको स्पष्टता अनिवार्य हुन्छ ।
अहिलेको मुख्य समस्या निर्वाचनको मितिभन्दा पनि सरकारको अनिर्णय हो । निर्वाचन गराउन आयोगलाई कम्तीमा १२० दिन चाहिने बताइएको छ । मतदाता नामावली अद्यावधिक, निर्वाचन सामग्री व्यवस्थापन, जनशक्ति परिचालन र मतदाता शिक्षाजस्ता कामका लागि पर्याप्त समय आवश्यक पर्छ । अन्तिम समयमा मिति तोकेर आयोगलाई हतारमा निर्वाचन गराउन बाध्य पार्नु उचित हुँदैन । लोकतन्त्रको विश्वसनीयता निर्वाचन समयमै र निष्पक्ष रूपमा सम्पन्न हुनुमा निर्भर गर्छ । त्यसैले निर्वाचनको मिति र प्रक्रियाबारे अन्योल लम्ब्याउनु उचित छैन । निर्वाचनको मिति तोक्ने अधिकार सरकारसँग छ । सरकारले आयोगको सुझाव, राजनीतिक दलहरूको धारणा र संवैधानिक व्यवस्थालाई आधार बनाएर तत्काल मिति घोषणा गर्नुपर्छ ।