२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने- नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

Nada
२०८३ असोज २ गते १६:३२
Shares
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने- नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैं उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरेर काम आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरे ।

यसका लागि उनले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिए ।

साथै, उनले राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीनरूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे । उनले भने, “राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, त्यसैले सांसदहरू अरु नै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ, सांसदको भूमिका सकिएपछि तपाईंहरूलाई अब आम्दानीको बाटो केही पनि छैन भनेर चिन्ता गर्न नपरोस, त्यसका लागि अहिलेदेखि नै छुट्टै व्यवसाय पनि सुरु गर्नुहोस् ।”

अन्तरक्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले जेनजी आन्दोलनका सहिद र घाइते, जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानुन निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना तथा प्रविधिका साथै आफ्ना निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

अन्तरक्रियामा सांसदहरू बब्लु गुप्ता, खिमा विक, पुष्पाकुमारी चौधरी, श्रद्धा कुँवर क्षेत्री, स्मृति सेञ्चुरी, शिव शंकर यादव, केपी खनाल, मनिष खनाल, पुरुषोत्तम शुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर