
काठमाडौं : नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको एआई टुल विदेशी बजारमा समेत प्रयोग गर्ने लक्ष्यसहित फिक्रा भेन्चर्सले एकीकृत मार्केटिङ प्लेटफर्म विकास गरेको छ । जसमा भिडियो निर्माणदेखि विज्ञापन व्यवस्थापन र उपभोक्ताको प्रतिक्रिया विश्लेषणसम्मको सुविधा उपभोक्ताले प्राप्त गर्नेछन् ।
फिक्रा भेन्चर्सको प्लेटफर्मले व्यवसायलाई एउटै प्रणालीबाट मार्केटिङ सामग्री निर्माण, सामाजिक सञ्जालमा प्रकाशन, विज्ञापन सञ्चालन, प्रभाव मापन र प्राप्त प्रतिक्रियाका आधारमा अर्को सामग्री तयार गर्न सहयोग पुर्याउने कम्पनीको दाबी छ। विशेषतः साना तथा मझौला व्यवसायलाई लक्षित गरी प्लेटफर्म निर्माण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको एआई भिडियो निर्माण प्लेटफर्म ‘फिक्राजेन’ ले सामान्य विचारबाट व्यावसायिक भिडियो तयार पार्न सहयोग गर्छ । प्रयोगकर्ताले स्क्रिप्ट र भ्वाइसओभर स्वीकृत गरेपछि भिडियो निर्माण गर्न सक्नेछन् ।
फिक्राजेनमा ब्रान्ड किट, बहुभाषिक भ्वाइसओभर, व्यक्तिगत आवाजको क्लोनिङ, वेबसाइट क्याप्चर, क्याप्सन, विभिन्न स्क्रिन आकारका भिडियो, दृश्यस्तरको सम्पादन र आंशिक पुनः निर्माणको सुविधा समावेश छन् । विज्ञापन, सफ्टवेयर लन्च, उत्पादन प्रदर्शन र स्टोरीबोर्ड निर्माणका लागि समेत विशेष कार्यप्रवाह विकास गरिएको छ ।
फिक्रा भेन्चर्सको ‘फिक्रासोसल’ ले सामाजिक सञ्जाल अकाउन्ट जोड्ने, सामग्री प्रकाशन तथा समय निर्धारण गर्ने र कमेन्ट, सन्देश तथा प्रतिक्रियाको विश्लेषण गर्ने सुविधा दिनेछ ।
एआईको सहयोगमा दर्शकको भावना, उद्देश्य र दोहोरिने विषय पहिचान गर्न थप सहज हुने र यसले प्रयोगकर्तालाई फाइदा पुग्ने कम्पनीले जनाएको छ । डिजिटल विज्ञापनतर्फ लक्षित ग्राहकसम्म विज्ञापन पुर्याउने, विज्ञापनबाट आएका ग्राहक तथा बिक्रीको मापन गर्ने, लगानीअनुसारको प्रतिफल विश्लेषण गर्ने, विभिन्न विज्ञापन सामग्रीको तुलनात्मक परीक्षण गर्ने, प्रभावकारी विज्ञापन सामग्रीलाई थप सुधार गर्ने र विस्तृत कार्यसम्पादन रिपोर्ट उपलब्ध गराउने सुविधा विकास गर्ने योजना फिक्राको छ । प्रकाशित सामग्रीमा प्राप्त प्रतिक्रियालाई अर्को भिडियो निर्माणको आधार बनाउन सकिने भएकाले कम्पनीको कार्यप्रणाली ‘क्लोज्ड लुप’ अर्थात् निरन्तर सुधारमा केन्द्रित छ ।
नेपालीले बनाएको एआई टुल, विदेशीले पनि प्रयोग गर्ने प्रविधि, यही महत्वाकांक्षासहित फिक्रा भेन्चर्सले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै एआईमा आधारित मार्केटिङ प्लेटफर्म विकास गरेको हो ।
नेपालमा विकास भएको प्रविधिलाई नेपाली व्यवसायमा मात्र सीमित नराखी विदेशका व्यवसायसम्म पुर्याउने लक्ष्य फिक्राले लिएको छ । अरबीसहित प्रमुख अन्तर्राष्ट्रिय भाषामा सामग्री निर्माण र भ्वाइसओभरको सुविधा विकास गर्ने योजनाले अंग्रेजीबाहेकका बजारलाई समेत लाभ पुग्ने विश्वास कम्पनीको छ ।
फिक्रा भेन्चर्सको अवधारणा एआईको प्रयोग गरेर भिडियो बनाउने मात्र नभइ, त्यसको प्रभाव बुझ्ने, उपभोक्ताको प्रतिक्रिया विश्लेषण गर्ने र त्यही आधारमा अर्को भिडियो अझ प्रभावकारी बनाउने निरन्तर प्रक्रिया हो । सिर्जनात्मक विचारदेखि मापनयोग्य व्यावसायिक परिणामसम्मको सम्पूर्ण सामग्रीको जीवनचक्रलाई एउटै अकाउन्ट, एउटै कार्यप्रवाह र एउटै व्यावसायिक प्रणालीमा जोड्ने लक्ष्य कम्पनीले लिएको छ ।