
वीरगन्ज : विशेष अदालतबाट सफाइ पाएपछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले तीन महिनापछि बुधबार कार्यालयमा पुगेर पुनः पदभार ग्रहण गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते छोरीको नागरिकता बनाउने क्रममा गलत लिखत पेस गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि सिंह मेयर पदबाट निलम्बनमा परेका थिए । मंगलबार विशेष अदालतले उक्त मुद्दामा उनलाई सफाइ दिएपछि सिंह पुनः मेयर पदमा बहाल भएका हुन् ।
बुधबार महानगरपालिकाको कार्यालय पुगेका सिंहले आफ्नो कार्यकक्षमा पूजापाठ गरेपछि पदभार ग्रहण गरेका थिए । त्यसपछि कर्मचारी तथा समर्थकलाई सम्बोधन गर्दै उनले आफूविरुद्ध व्यक्तिगत रिसइबी र राजनीतिक प्रतिशोधका कारण झुटा आरोप लगाइएको दाबी गरे ।
विशेष अदालतले आरोपबाट सफाइ दिएर आफूलाई न्याय दिएको भन्दै उनले खुसी व्यक्त गरे । वीरगन्जवासीको शिर निहुरिने कुनै काम आफूले नगरेको उनको भनाइ थियो ।
‘मैले भ्रष्टाचार गरेको भए सजायको भागीदार हुन्थेँ । तर मेयर पदमा रहँदा मैले कुनै खराब काम गरेको छैन, गर्दिनँ पनि । वीरगन्जवासीको शिर झुक्ने काम मबाट हुन दिन्नँ,’ सिंहले भने ।
उनले आफूले अघि बढाएको ‘वैभव वीरगन्ज’ अभियानलाई रोक्न खोज्नेहरूले आफूलाई दुःख दिएको आरोपसमेत लगाए । त्यस्ता गतिविधिको जवाफ वीरगन्जवासीले दिने उनको भनाइ थियो ।
आफ्नो कार्यकालमा कुनै भ्रष्टाचार भएको भए त्यससम्बन्धी सबै फाइल लिएर अनुसन्धान गर्न उनले विपक्षीहरूलाई चुनौती दिए ।
सिंहले आफू तीन महिनासम्म पदमा नरहँदा महानगरपालिकाका केही कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुःख दिएको गुनासो आएको भन्दै कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न चेतावनी दिए ।
विशेषगरी महानगरपालिकामा राजस्व तिर्न आउने सेवाग्राहीलाई कर्मचारीले एक सातासम्म झुलाउने गरेको गुनासो आएको उल्लेख गर्दै उनले कर्मचारीलाई काममा सुधार गर्न आग्रह गरे ।
‘अहिलेबाटै तपाईंहरू सुध्रिहाल्नुस्, नत्र त्यसको परिणाम भोग्न तयार रहनुहोला,’ उनले भने, ‘अब गलत गर्नेहरूलाई म छुट दिने पक्षमा छैन ।’
मेयर सिंहले आफू पदमा नरहेको तीन महिनाका क्रममा रोकिएका विकास निर्माणका कामलाई पुनः अघि बढाउने बताए । शहरको सरसफाइ, सौन्दर्यकरण, बजार व्यवस्थापनलगायतका योजनाले पनि अब गति लिने उनको भनाइ छ ।
‘जहाँ अन्याय हुन्छ, त्यहाँ न्याय जरुर मिल्छ । विशेष अदालतले मलाई न्याय गरेको छ, वीरगन्जवासीले पनि न्याय पाएका छन्,’ सिंहले भने ।