२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने

Nada
२०८३ भदौ ३१ गते १४:२३
Shares
शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने

काठमाडौं : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ । बुधबार बसेको समितिको बैठकले नुवाकोट, धादिङ र काठमाडौंमा रहेका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो ।

ncell

समिति सभापति ओजश्वी शेरचनले पहिलो चरणमा असोज ३ र ४ गते अनुगमन गर्ने जानकारी दिइन् । संसदीय परम्परा, अनुगमनको संवेदनशीलता र मितव्ययितालाई ध्यानमा राख्दै तीन जिल्लाका लागि छुट्टाछुट्टै संसदीय टोली गठन गरिएको छ ।

नुवाकोटका होल्डिङ सेन्टर अनुगमनका लागि सभापति शेरचनसहित अच्युतम लामिछाने, भीमकुमारी बुढामगर, राजन गौतम, राधिका रम्तेल र रिङ्गला यादव सदस्य रहनेछन् ।

त्यस्तै, धादिङका होल्डिङ सेन्टर अनुगमनका लागि सीता थपलिया, कुसुम महर्जन र झविलाल डुम्रे सदस्य रहनेछन् । काठमाडौंमा रहेका होल्डिङ सेन्टरको अनुगमनका लागि भने समिति परामर्श तथा समन्वय उपसमितिको परामर्शमा सभापतिले उपयुक्त मिति र सहभागी सदस्यको संख्या निर्धारण गर्ने निर्णय भएको छ ।

समितिले अनुगमनको दोस्रो चरणसमेत सञ्चालन गर्ने जनाएको छ । दोस्रो चरणको अनुगमन सदन नचलेको समयमा असोज ८ देखि १२ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ ।

समितिले आगामी दिनमा अन्य जिल्लामा समेत विभिन्न विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । हालको अनुगमनमा सहभागी नभएका सदस्यलाई आगामी अनुगमनमा प्राथमिकता दिने र सम्भव भएसम्म कुनै सदस्यलाई दोहोर्‍याएर एउटै अनुगमन टोलीमा नराख्ने नीति समितिले लिएको सभापति शेरचनले जानकारी दिइन् ।

ताजा खबर

सम्बन्धित खबर