२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

धनुषामा सम्बन्ध विच्छेदका घटना बढे

Nada
२०८३ साउन २० गते १३:३२
Shares
धनुषामा सम्बन्ध विच्छेदका घटना बढे

जनकपुरधाम : धनुषा जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । 

ncell

जिल्ला अदालतको पछिल्लो तथ्यांकले सामाजिक संरचना, बसाइसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्ध विच्छेदको घटना बढेको देखाएको हो ।

अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ समेत अदालतमा सम्बन्ध विच्छेदका ५०० मुद्दा अदालतमा थिए । त्यसमध्ये २८१ मुद्दामा फैसला भइसकेको छ भने २१९ मुद्दा विचाराधीन रहेको सूचना अधिकारी महतोले बताए ।

अघिल्लो आव २०८१/८२ मा सम्बन्ध विच्छेदका ३१५ नयाँ मुद्दा दर्ता भएका थिए । त्यस वर्ष ३४७ मुद्दामा फैसला भएको थियो । एक सय ६७ मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए । सम्बन्धविच्छेदसम्बन्धी मुद्दा लगातार बढ्दो दर्ता सङ्ख्याले धनुषामा वैवाहिक सम्बन्धमा तनावको प्रवृत्ति बढ्दै गएको देखाएको छ ।

शिक्षामा चेतनासँगै महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति–पत्नी बेग्लै रहनुपर्ने परिस्थिति, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक विवाद तथा घरेलु हिंसाका घटनाले वैवाहिक सम्बन्ध अन्त्यका घटना बढिरहेको कानुन व्यवसाय राजकुमार महासेठले बताए । 

उनका अनुसार गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीबाट ल्याएको परिवर्तन, एक्लै बस्न रुचाउने जीवनशैली तथा व्यक्तिगत स्वतन्त्रताको बढ्दो चेतनाले दाम्पत्य सम्बन्धलाई नयाँ चुनौती दिइरहेको छ ।

पछिल्लो समय महिला वा पुरुष दुवैले आफूलाई अन्याय भएको महसुस गरेमा कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको उनको भनाइ छ । बढिरहेको सम्बन्ध विच्छेदले समाजमा एकातिर व्यक्तिगत अधिकारप्रति देखिएको जागरूकता तथा अर्कोतर्फ पारिवारिक सम्बन्धमा संवाद र सहिष्णुताको कमी हुँदै गएको संकेत पनि गरेको छ ।

कानुन व्यवसायी दीपककुमार विश्वकर्माका अनुसार सम्बन्धविच्छेदसम्बन्धी मुद्दा बढेसँगै अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थताको आवश्यकता पनि बढ्दै गएको छ । समयमै परामर्श, मनोवैज्ञानिक सहयोग, वैवाहिक शिक्षा र पारिवारिक संवादलाई प्रोत्साहन गर्न सके बढिरहेको सम्बन्ध विच्छेदका घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिने छ ।

ताजा खबर

सम्बन्धित खबर