
बर्दिया : बर्दियामा वन संरक्षण र व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल गरेका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीलाई सम्मान थाप्न भ्याइ नभ्याइ भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत वन क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएको भन्दै उहाँ ‘लुम्बिनी वन प्राविधिक उत्कृष्ट सेवा पुरस्कार २०८२’ बाट सम्मानित भइसकेका छन् भने मंगलबार स्थानीय ‘जय हरियाली अभियान’ले पनि प्रशंसापत्र प्रदान गरेर थप सम्मान गरेको छ ।
प्रमुख सुवेदीका अनुसार वन संरक्षणमा अन्योलता रहेको अवस्थामा कानुनी प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्दै नियमित कामलाई प्राथमिकता दिँदा उल्लेखनीय नतिजा हासिल गर्न सकिएको हो । “कानुनी प्रक्रिया कडाइका साथ लागू गर्दा काठ–दाउराको चोरी शून्यमा झार्न सफल भयौं,” उनले भने । साथै, सामुदायिक वन उपभोक्तासँगको सहकार्यमा बिना द्वन्द्व २५ हेक्टर वन अतिक्रमण हटाउन पनि सफल भएको उनको दाबी छ, जुन लुम्बिनी प्रदेशका अन्य जिल्लामा देखिएको छैन ।
वन व्यवस्थापनमा लामो समयदेखि प्रभावकारी प्रगति हुन नसकेको अवस्थामा पछिल्लो दुई वर्षमा उल्लेखनीय सुधार भएको छ । सुवेदीका अनुसार यस अवधिमा १ सय १९ वटा कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । “पुराना र बुढा रुख वैज्ञानिक आधारमा कटान गर्दा काठ उत्पादन बढ्यो, चोरी नियन्त्रण भयो र उपभोक्ताले सहज रूपमा काठ प्राप्त गर्न थालेका छन्,” उनले भने । अहिले त काठका लागि निवेदन दिएको दिनमै आपूर्ति सम्भव भएको जनाइएको छ ।
सिस्टेमेटिक वन व्यवस्थापनका कारण काठ उत्पादन बढ्दै गएको छ भने राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि भएको छ । गत वर्ष मात्र काठ बिक्रीबाट प्रदेश सरकारलाई ८ करोड रुपैयाँभन्दा बढी र संघ सरकारलाई ५ करोड रुपैयाँ राजस्व प्राप्त भएको जनाइएको छ । साथै, सामुदायिक वन समूहहरूले करिब ४० करोड रुपैयाँ आम्दानी गरेका छन्, जसमध्ये अझै ७२ प्रतिशत काठ बिक्री हुन बाँकी रहेको छ । यसले स्थानीय तहमा रोजगारी सिर्जना गर्न पनि सहयोग पुर्याएको छ ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पनि विभिन्न पहलहरू अघि बढाइएको छ । जनचेतनामूलक कार्यक्रमसँगै आवादी क्षेत्र र वनको सिमानामा तारबार गर्ने अभियान सञ्चालन गरिएको छ । गत वर्ष ४१ किलोमिटर तारबार गरिएको र आगामी दुई–तीन वर्षभित्र सबै संवेदनशील क्षेत्रमा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख सुवेदीले जानकारी दिए ।
उत्कृष्ट कार्य सम्पादनका लागि प्रमुख सुवेदीलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल सहित सुरक्षा निकायका प्रमुखहरू र स्थानीयवासीहरूले समेत सम्मान व्यक्त गरेका छन् ।