२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

झाझ नदीको बाढीले सयौं बिघा धानबाली नष्ट

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ साउन १९ गते १३:२४
Shares
झाझ नदीको बाढीले सयौं बिघा धानबाली नष्ट

रौतहट : रौतहटको यमुनामाई गाउँपालिका अन्तर्गत पर्ने झाझ नदीमा आएको बाढीले ठुलो परिमाणमा खेतीयोग्य जमिन डुबानमा पर्दा सयौं बिघा धानबाली नष्ट भएको छ । निरन्तरको वर्षासँगै नदीमा आएको तीव्र बहावका कारण विशेषगरी धानखेतीमा व्यापक क्षति पुगेको स्थानीयले बताएका छन् ।

ncell

बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्न आरडिसी नेपाल का अध्यक्ष पारस हुसेन प्रभावित बस्तीमा पुगेका छन् । उनले यमुनामाई–१ जेठरहिया लगायत आसपासका वडामा पुगेर पीडित किसानहरूसँग प्रत्यक्ष भेटघाट गर्दै क्षतिको अवस्थाबारे जानकारी लिएका छन् ।

स्थानीयका अनुसार झाझ नदीमा सामान्य वर्षा हुँदा पनि बर्सेनि कटान र डुबानको समस्या दोहोरिँदै आएको छ । यस वर्ष भने मुख्य बालीका रूपमा लगाइएको धानखेतीमै ठूलो क्षति पुगेपछि किसानहरू थप संकटमा परेका छन् । मेहनत र लगानी गरेर रोपिएको बाली बाढीले बगाएपछि धेरै किसानको जीविकोपार्जन नै जोखिममा परेको छ ।

No description available.

किसानहरूले यो समस्या वर्षौंदेखि दोहोरिँदै आए पनि सम्बन्धित निकायबाट दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल नभएको गुनासो गरेका छन् । उनीहरूले तत्काल राहत, क्षतिपूर्ति र स्थायी समाधानको माग गरेका छन् ।

स्थलगत निरीक्षणपछि अध्यक्ष हुसेनले कृषि उत्पादन र किसानको जीविकोपार्जनको सुरक्षा गर्नु राज्यका सबै तहको साझा दायित्व भएको उल्लेख गरे । उनले झाझ नदीको कटान तथा डुबान नियन्त्रणका लागि पक्की तटबन्ध निर्माण तथा दीर्घकालीन बाढी व्यवस्थापन योजना अघि बढाउन संघीय, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

'किसानको समस्या व्यक्तिगत मात्र होइन, यो राष्ट्रिय खाद्य सुरक्षा र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय हो,' हुसेनले भने, 'अब आश्वासन होइन, दीर्घकालीन समाधानका लागि ठोस कदम चाल्न आवश्यक छ ।'

यदि समयमै तटबन्ध र नदी नियन्त्रणका योजना कार्यान्वयन गरिएन भने आगामी वर्षहरूमा क्षति अझै भयावह हुन सक्ने स्थानीयको चेतावनी छ ।

ताजा खबर

सम्बन्धित खबर