२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेपालसँग अब ढिलासुस्ती गर्ने समय छैन, आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : गगन थापा

Nada
२०८३ साउन १७ गते १८:३७
Shares
नेपालसँग अब ढिलासुस्ती गर्ने समय छैन, आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका छन् ।

ncell

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगार र पहुँच विश्व बजार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विश्व बजार तीव्र गतिमा परिवर्तन भइरहेका बेला नेपालसँग समय खेर फाल्ने अवस्था नरहेको उल्लेख गरे ।

थापाले भारत, फिलिपिन्स र कजाकिस्तानलगायत मुलुकहरूले सूचना प्रविधि उद्योगलाई प्राथमिकतामा राखेर द्रुत गतिमा प्रतिस्पर्धात्मक क्षमता विस्तार गरिरहेको उल्लेख गर्दै नेपालले पनि सोही अनुरूप नीतिगत र प्रशासनिक सुधारलाई तीव्र बनाउनुपर्ने धारणा राखे ।

उनका अनुसार आइटी क्षेत्रलाई आर्थिक विकास, रोजगारी सिर्जना र सेवा निर्यातको प्रमुख आधारका रूपमा विकास गर्न निर्णय प्रक्रियादेखि कार्यान्वयनसम्म चुस्तता आवश्यक छ ।

कार्यक्रममा थापाले सत्ता साझेदार दलको संयन्त्रमा रहँदा विज्ञहरूसँगको परामर्शपछि सूचना प्रविधि क्षेत्र सुधारका लागि आवश्यक नीतिगत पहल अघि बढाइएको बताए। उनले ल्याइएका छवटा अध्यादेशमध्ये एउटा सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित सुधारमा केन्द्रित रहेको उल्लेख गरे ।

उनका अनुसार ती व्यवस्थामार्फत नेपाली आइटी कम्पनीलाई विदेशमा शाखा विस्तार गर्न तथा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने प्रक्रियालाई सहज बनाउने प्रयास गरिएको छ ।

थापाले नेपालमा सूचना प्रविधि क्षेत्रको सम्भावना उच्च रहेकाले त्यसलाई प्रभावकारी नीति, लगानीमैत्री वातावरण र छिटो कार्यान्वयनमार्फत उपयोग गर्नुपर्नेमा जोड दिए । उनले विश्वबजारको प्रतिस्पर्धामा टिक्न सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वित प्रयास अपरिहार्य रहेको बताए । 

सम्बन्धित खबर