
काठमाडौँ : गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दु सम्राट सेना नेपालबीच जनकपुरधाममा भएको वार्तापछि आन्दोलनका विषयमा मौखिक समझदारी बनेको छ । सहमतिसँगै संगठनले यसअघि घोषणा गरेका नेपाल बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ ।
आइतबार करिब डेढ घण्टा चलेको छलफलपछि दुवै पक्ष सकारात्मक निष्कर्षमा पुगेका हुन् । हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि सरकारसमक्ष पेश गरेको १३ बुँदे मागलाई परिमार्जन गर्दै थप ६ बुँदा समावेश गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई बुझाएको छ ।
उनका अनुसार सरकारले ती मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको छ ।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष सनातनीले धार्मिक सद्भाव संरक्षण र मुलुकलाई द्वन्द्वतर्फ जान नदिन सहमतिमार्फत अघि बढ्ने निर्णय गरिएको बताए । हिन्दु राष्ट्रको अवधारणाले सबै धर्म र समुदायप्रति सम्मान गर्ने मान्यता बोकेको उल्लेख गर्दै उनले कुनै पनि समुदायमाथि अन्याय गर्ने उद्देश्य नरहेको धारणा राखे ।
उनले धार्मिक विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रयास हुन सक्ने भन्दै त्यसप्रति सबै पक्ष सचेत रहनुपर्ने पनि बताए ।
यस्तै, संगठनका अध्यक्ष राजेश यादवले धर्मका आधारमा कुनै आयोग गठन नगर्ने, मदरसा तथा मस्जिदमा हुने कोष परिचालन र धार्मिक स्थलमा प्रयोग हुने लाउडस्पिकरको व्यवस्थापनलगायतका विषयमा पनि छलफलका क्रममा समझदारी बनेको जानकारी दिए ।
वार्ताका क्रममा गृहमन्त्री गुरुङले सबै धार्मिक समुदायको सुरक्षा सुनिश्चित गरिने, कुनै पनि समुदायका धार्मिक गतिविधि र पर्वमा अवरोध वा हिंसा हुन नदिने प्रतिबद्धता व्यक्त गरेको संगठनले जनाएको छ ।
सरकारबाट आफ्ना माग सम्बोधन गर्ने लिखित तथा मौखिक प्रतिबद्धता प्राप्त भएपछि विरोधका कार्यक्रम फिर्ता लिइएको हिन्दु सम्राट सेना नेपालले जनाएको छ । संगठनले वर्तमान परिस्थितिमा शान्ति, सामाजिक सद्भाव र संवादलाई प्राथमिकता दिन सहमतिको मार्ग रोजिएको उल्लेख गरेको छ ।