२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

‘लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक’

Nada
दीपकप्रसाद घिमिरे
२०८३ साउन १६ गते २१:४७
Shares
‘लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक’

ललितपुर : सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता र जिम्मेवारी एकअर्कासँग गहिरो रूपमा सम्बन्धित रहेको बताएकी छन् । उनले प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको प्राणको संज्ञा दिँदै अधिकारको प्रयोगसँगै जिम्मेवारीको भावना पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरिन् । 

ncell

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा शुक्रबार ललितपुरमा सम्पन्न ३४औँ प्रकाश स्मृति दिवस तथा ३२औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८२ वितरण समारोहमा ‘नेपालको लोकतन्त्र र मानव अधिकारका सवाल’ विषयमा आयोजित प्रवचन कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै न्यायाधीश मल्लले राजनीतिक परिवर्तन भए पनि द्वन्द्वकालका पीडितले अझै पूर्ण न्याय पाउन नसकेको बताइन् । 

उनले अदालतले न्यायको बाटो खोल्न सक्ने भए पनि सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण नभएसम्म मानव अधिकारको वास्तविक प्रत्याभूति हुन नसक्ने धारणा राखिन् । कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो प्रयोगसँगै डिजिटल अधिकार र डिजिटल सचेतनाको आवश्यकता बढेको उल्लेख गर्दै जलवायु परिवर्तनका चुनौतीबीच प्रकृतिको संरक्षणलाई पनि मानव अधिकारसँग जोडेर हेर्नुपर्नेमा जोड दिइन् । 

वरिष्ठतम् न्यायाधीश मल्लले संविधानको रक्षा गर्नु न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको साझा दायित्व भएको बताउँदै सक्षम संविधान र प्रभावकारी कानुन कार्यान्वयनबाट मात्रै समृद्धि सम्भव हुने धारणा व्यक्त गरिन् । 

कार्यक्रममा इन्सेकले मानव अधिकार, सामाजिक न्याय र समानताको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय योगदान पु¥याएका सिन्धुलीको कमलामाई नगरपालिका–९, भीमान निवासी रुद्रबहादुर खड्कालाई ३२औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८२ प्रदान गरेको छ । पुरस्कारस्वरूप उनलाई नगद ५० हजार रुपैयाँ, सम्मानपत्र तथा इन्सेकको प्रतीक चिह्न प्रदान गरिएको थियो । 

इन्सेकका अध्यक्ष विजयराज गौतमले स्वर्गीय प्रकाश काफ्लेको मानव अधिकारप्रतिको योगदान स्मरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र मानव अधिकारमैत्री समाज निर्माणका लागि नागरिक समाजको भूमिका अझ सशक्त हुनुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले लोकतन्त्र संस्थागत भए पनि जवाफदेही शासन व्यवस्था अझै सुदृढ हुन नसकेको टिप्पणी गरे । उनले सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा नपुग्दा द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न नसकेको उल्लेख गर्दै सार्वजनिक निकायहरू थप पारदर्शी र उत्तरदायी बन्नुपर्ने आवश्यकता औँल्याए ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मानव अधिकार अभियन्ता प्रकाश काफ्लेको योगदान स्मरण गर्दै नयाँ पुस्तालाई मानव अधिकार अभियानसँग जोड्न आग्रह गरे । धर्म वा राजनीतिक आवरणमा समाजमा घृणा र द्वेष फैलाउने प्रवृत्तिप्रति सचेत रहन पनि उनले सबैलाई आह्वान गरे । 

पुरस्कार छनोट समितिका सदस्य दुर्गा सोबका अनुसार यस वर्ष सार्वजनिक आह्वानमार्फत प्राप्त ४८ जनाको नाममध्ये शोषण तथा विभेदमुक्त समाज निर्माणका लागि लामो समयदेखि सक्रिय रुद्रबहादुर खड्का छनोट भएका हुन् । पुरस्कार ग्रहणपछि खड्काले सम्मानले आफूमा थप जिम्मेवारी थपिएको बताउँदै सामाजिक न्याय, मानव अधिकार, मौलिक हकको कार्यान्वयन र सुशासनका पक्षमा अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  इन्सेकका अनुसार स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष मानव अधिकार, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गर्दै आइएको छ ।

सम्बन्धित खबर