
काठमाडौं : मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । शनिबार काठमाडौंको ललितपुरस्थित द प्लाजामा आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले देशकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको मुख्य ताज आफ्नो नाममा पारेकी हुन् । यसै संस्करणमा मिस नेपाल कस्मोको उपाधि कशिस सुब्बाले जितिन् भने मिस नेपाल इन्टरनेसनलको ताज आर्या निशान्तले हात पारिन् ।
२४ वर्षीया दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि जितिसकेकी छन् । उनी आफ्नी आमाबाट प्रेरित भएर सौन्दर्य प्रतियोगितामा सहभागी भएको बताउँछिन् । उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् ।
पेशागत रूपमा दीपमाला अन्तर्राष्ट्रिय लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन् । उनी तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी, म्याराथन धावक तथा अर्थशास्त्रमा स्नातकसमेत हुन् ।
त्यस्तै, मिस नेपाल कस्मो विजेता कशिस सुब्बाले १८ वर्षको उमेरमै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनी अब मिस नेपाल कस्मोका रूपमा नेपाललाई विश्वस्तरमा प्रतिनिधित्व गर्नेछिन् ।
मिस नेपाल इन्टरनेसनल बनेकी २४ वर्षीया आर्या निशान्त धनुषाको जनकपुरकी हुन् । उनी सन् २०२१ मा आयोजित मिस युनिभर्स नेपाल प्रतियोगिताको उत्कृष्ट १० प्रतिस्पर्धीमध्ये परेकी थिइन् । बिजनेस एडमिनिस्ट्रेसन अध्ययन गरेकी आर्या हाल शिक्षण क्षेत्रमा आबद्ध छिन्। उनी उच्च शिक्षा, अन्तर्राष्ट्रिय अनुभव तथा शिक्षा र युवा सशक्तीकरणका क्षेत्रमा योगदान पुर्याउने लक्ष्यका साथ अघि बढिरहेकी छन् । यस वर्षको मिस नेपाल प्रतियोगिताले नयाँ पुस्ताका प्रतिभाशाली युवतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।