
सर्लाही : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन र लालबन्दीमा शनिवार बिहान सद्भाव र्यालीमा निकालिएको छ ।
पूर्वका सुनसरी, सिरहालगायत जिल्लामा उत्पन्न तनावलाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम गर्ने उद्देश्यसहित हरिवन र लालबन्दीमा सद्भाव र्याली निकालिएको हो । सद्भाव र्यालीमा हिन्दु, मुस्लिम, वौद्धलगायत धर्मका धर्मगुरु, अगुवासहित स्थानीय जनप्रतिनिधि, राजनीतिज्ञ, सुरक्षा अधिकारी, उद्योगी, व्यवसायी, महिला अगुवा र स्थानीय वासिन्दा सहभागी भएका थिए ।
हरिवनमा महेन्द्र राजमार्गको पश्चिम लच्कादेखि पूर्वी लच्कासम्म सद्भाव र्याली निकालेर हरिवन चोकस्थित सगुन सहकारी अगाडि कोण सभा गरिएको थियो ।
सभामा सर्लाही ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्रप्रसाद साह कलवार, पूर्वमन्त्री हरिप्रसाद उप्रेती, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीलगायतले मन्तव्य व्यक्त गर्दै एकले अर्को धर्मलाई सम्मान गर्दै निरन्तर रुपमा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । नगर प्रमुख बुढाथोकीको अध्यक्षता एवं सांसद साहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाली सेना पाँचकुमारी गणका गणपति प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्री लगायतको उपस्थिती रहेका थिए । हरिवनमा शुक्रबार सर्वपक्षिय छलफल गरी सामाजिक सद्भाव कायम गर्ने निर्णय गर्दै शनिबार सद्भाव र्याली निकालिएको हो ।
यसैगरी लालबन्दीमा निकालिएको सदभाव र्यालीमा लालबन्दी नगरपालिका–६, जनवादी चोकदेखि लालबन्दी नगरपालिका–७, डुमडुमे मन्दिरसम्म सद्भाव र्याली निकालिएको हो । सद्भाव र्याली पश्चात डुमडुमे मन्दिर परिसरमा आयोजित कोण सभालाई सम्वोधन गर्दै लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले सबै जातजाति र धर्मका मानिस मिलेर बस्नु लालबन्दीको मुख्य विशेषता रहेको बताए ।
यस्तै कोण सभामा बोल्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सबै पक्षको समन्वयका कारण मधेशका अन्य जिल्लाको तुलनामा सर्लाही शान्त नै रहेको भन्दै सबैमा धन्यवाद् व्यक्त गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, नेपाली सेनाका प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो । नगरपालिका कार्यालय, उद्योग वाणिज्य संघलगायत अन्य संघसंस्थाको आयोजनामा सद्भाव र्याली निकालिएको लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले जानकारी दिए ।
सहभागीले सबै जातजाति र धर्मका मानिसको बसोवास रहेको सर्लाहीमा सँधै यसैगरी शान्त बनाइराख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।