२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

विष्णुमाया पौडेलको नयाँ तिज गीत ‘दुई सय तोला सुन’ सार्वजनिक (भिडियोसहित)

Nada
२०८३ साउन १६ गते १९:३८
Shares
विष्णुमाया पौडेलको नयाँ तिज गीत ‘दुई सय तोला सुन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : तिज पर्वलाई लक्षित गर्दै गायिका विष्णुमाया पौडेलले नयाँ तिज गीत ‘दुई सय तोला सुन’ सार्वजनिक गरेकी छन् । गीतको म्युजिक भिडियो शुक्रबार दिउँसो विष्णुमाया पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

ncell

गीत सार्वजनिक गर्न काठमाडौंको बत्तीसपुतलीस्थित द ग्रिल नेसनमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार डब्बु क्षेत्री, समाजसेवी मेघनाथ भुर्तेललगायत कला, साहित्य, सञ्चार तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समाजसेवी भुर्तेलले गीतको भिडियोको औपचारिक विमोचन गरेका थिए ।

सार्वजनिक गरिएको भिडियोमा चर्चित मोडल अस्मिता जुरेली, आरती बुढा तथा गायिका पौडेल स्वयंको आकर्षक नृत्य प्रस्तुत गरिएको छ । तिजको उत्साह, रंगीन वातावरण र आधुनिक जीवनशैलीलाई समेटेर तयार पारिएको भिडियोले दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

भिडियोको छायांकन रामकुमार केसीले गरेका हुन् भने कोरियोग्राफी दिपेश एसकेको रहेको छ । सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोको छायांकन गोकर्णेश्वर नगरपालिकास्थित सहिद स्मारक पार्क तथा काठमाडौंका एक बैंक्वेटमा गरिएको निर्माण टोलीले जनाएको छ । दृश्य संयोजन, नृत्य प्रस्तुति र आकर्षक लोकेसनका कारण भिडियो थप जीवन्त बनेको देखिन्छ ।

गीतका शब्द तथा संगीत आरबी केसीको रहेको छ भने स्वर गायिका बिष्णु माया पौडेलले दिएकी छन् । आधुनिक तिज गीतको शैलीमा तयार पारिएको यस गीतले परम्परागत तिजको स्वादसँगै बदलिँदो सामाजिक परिवेशलाई पनि समेट्ने प्रयास गरेको छ ।

गीतको सुरुवाती हरफ 'स्कुटर भने स्कुटर पाछु, कार चाहियो भने कार पनि पाछु, मन लाउँदा खेरी प्लेन नै चढ्छु, अरू त के चाहियो केटी हो, दुई सय तोला त सुन लाछु'ले आधुनिक समाजमा बढ्दो भौतिक आकांक्षा र त्यसलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको कथावस्तुलाई उजागर गर्छ । गीतले तिजको रमाइलो माहोललाई समसामयिक परिवेशसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेको छ ।

युट्युबमार्फत भिडियो सार्वजनिक भएसँगै गीत विभिन्न डिजिटल अडियो स्ट्रिमिङ प्लेटफर्ममा पनि उपलब्ध गराइएको छ । तिज नजिकिँदै जाँदा सार्वजनिक भएको यो गीत सामाजिक सञ्जाल, टिकटक तथा अन्य डिजिटल प्लेटफर्ममा राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।

गीत सार्वजनिक भएपछि गायिका पौडेलले आफ्ना श्रोता तथा दर्शकलाई गीत हेर्न, सुन्न, सेयर गर्न, लाइक र कमेन्ट गर्नका साथै टिकटक भिडियो बनाएर साथ दिन आग्रह गरेकी छन् । उनका अनुसार तिजको सांगीतिक माहोललाई अझ उत्साहपूर्ण बनाउन यो गीत तयार गरिएको हो ।

आधुनिक संगीत, आकर्षक भिडियो र मनोरञ्जनात्मक प्रस्तुतीकरणका कारण यसले तिजका दर्शक-स्रोतामाझ राम्रो स्थान बनाउने निर्माण पक्षको विश्वास छ ।

सम्बन्धित खबर