२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

हिमालको काखमा हराइरहेका निर्मल पुर्जा

Nada
दिवाकर अधिकारी
२०८३ साउन १६ गते ०६:१०
Shares
हिमालको काखमा हराइरहेका निर्मल पुर्जा

काठमाडौं : विश्वका अग्ला हिमालमा आफ्नो पैतालाको छाप छाड्न सफल एउटा नाम हो– निर्मल पुर्जा, अर्थात् ‘निम्स दाइ’ ।

ncell

‘असम्भव केही छैन’भन्दै मृत्युको मुखबाट पटक–पटक जीवन र कीर्तिमान जितेका तिनै निम्स दाइ यतिबेला पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ब्रोड पिक (८,०५१ मिटर)मा हराइरहेका छन् । बिहीबार दिउँसो गएको एउटा भीषण हिउँपहिरोमा निम्स दाइको नेतृत्वमा रहेको १० सदस्यीय टोली सम्पर्कविहीन भएपछि अहिले सिंगो विश्वको ध्यान ब्रोड पिकतिर मोडिएको छ ।

निम्स दाइको योपटक ब्रोड पिक चढ्ने कुनै योजना नै थिएन । उनले सामाजिक सञ्जाल ‘एक्स’मा आफू ‘जि–टू’ हिमाल आरोहण गर्न पाकिस्तान पुगेको उल्लेख गरेका थिए । तर, अवसरले उनलाई डोहो¥यायो । उनले महसुस गरे– यदि ब्रोड पिक चढे भने उनी बिनाअक्सिजन विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल दुईपटक आरोहण गर्ने पहिलो व्यक्ति बन्नका लागि केवल चोयु हिमाल मात्र बाँकी रहनेछ ।

‘अवसरहरू चिच्याएर आउँदैनन्, तिनले सुस्तरी ती व्यक्तिहरूलाई संकेत गर्छन् जो पहिलेदेखि नै चुपचाप काम गरिरहेका हुन्छन्,’ उनले आफ्नो पोस्टमा लेखेका थिए । उनले ब्रोड पिकसँग एउटै वरदान मागेका थिए– सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ । तर, प्रकृतिले उनको यो सरल इच्छामा ठुलो तगारो तेस्र्याएको छ ।

बिहीबार दिउँसो जब हिउँपहिरो गयो, तब निम्स दाइसँगै टोलीमा रहेका अन्य पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक चिनियाँ र एक अमेरिकी पर्वतारोही हराए । पाकिस्तानी अधिकारीहरूका अनुसार हिउँपहिरोले उनीहरूलाई करिब एक हजार मिटर तलसम्म बगाएको जिपिएस ट्र्याकरहरूले संकेत गरेका छन् । बेपत्ता हुने नेपालीमा निम्स दाइसहित पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् ।

अहिलेसम्म चारजनाको शव फेला परेको पुष्टि भएको छ, जसमध्ये दुईजनाको पहिचान भइसकेको छ । पहिचान हुनेमा नेपालका चर्चित आरोही पुरबहादुर गुरुङ (युक्त) र ओमानकी नादिरा अहमद अब्दुल्लाह अल हार्थी रहेका छन् । ट्र्याकरहरू ६ हजारदेखि ७ हजार मिटरको उचाइमा देखिए पनि तिनमा कुनै हलचल नहुँदा उद्धारकर्मी र निम्स दाइका प्रशंसकमा चिन्ता बढेको छ ।

ब्रोड पिक विश्वको १२औं अग्लो हिमाल हो । यो हिमाल विश्वकै दोस्रो अग्लो हिमाल केटूबाट झन्डै आठ किलोमिटरको दूरीमा रहेको छ । यसको चुचुरोतर्फको मोहोडा अस्वाभाविक रूपमा करिब दुई किलोमिटर लामो र चौडा भएकाले यसलाई ‘ब्रोड पिक’ भनिएको हो । सन् १९५७मा अस्ट्रियाली टोलीले पहिलोपटक सफल आरोहण गरेको यो हिमाल पर्वतारोहणका लागि निकै चुनौतीपूर्ण र प्राविधिक मानिन्छ, जहाँ आठ हजार मिटरभन्दा माथिको जोखिमपूर्ण ‘डेथ जोन’ समेत रहेको छ ।

म्याग्दीको दानादेखि विश्वको शिखरसम्म

निम्स दाइको जीवन कुनै रोमाञ्चक चलचित्रको कथाभन्दा कम छैन । २०४० सालमा म्याग्दीको दानामा जन्मिएका निम्स दाइको बाल्यकाल संघर्षमय रह्यो । ९ वर्षको उमेरमा टिबी र पछि दमजस्तो रोगले सताए पनि उनले कहिल्यै हार मानेनन् । सन् २००३मा ब्रिटिस सेनाको गोर्खा रेजिमेन्टमा भर्ना भएका उनी पछि बेलायती जलसेनाको विशेष फौज ‘स्पेसल बोट सर्भिस’मा छनोट हुने पहिलो नेपाली बने ।

उनको पर्वतारोहण यात्रा सन् २०१२मा सगरमाथा आधारशिविरको पदयात्राबाट सुरु भएको थियो । तर, उनलाई विश्वले तब चिन्यो जब उनले सन् २०१९मा ‘प्रोजेक्ट पोसिबल’मार्फत विश्वका १४ वटै अग्ला हिमालहरू केवल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाए । 

उनको साहसिक यात्राको कथालाई नेटफ्लिक्सले ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्रीमा समेटेको छ, जसले नेपाली शेर्पाहरूको साहसलाई विश्वभर चिनायो । केटु हिमालको पहिलो हिउँदकालीन आरोहण गरेर नेपाली राष्ट्रिय गान चुचुरोमा गुन्जाउँदाको क्षण होस् वा सगरमाथाको ‘ट्राफिक जाम’को तस्बिर खिचेर विश्वव्यापी बहस छेड्दाको समय, निम्स दाइ सधैं चर्चा र साहसको केन्द्रमा रहे ।

अहिले ब्रोड पिकको काखमा निम्स दाइ र उनको टोलीको खोजी तीव्र पारिएको छ । पाकिस्तानी सेनाका दुई हेलिकप्टर, ड्रोन र केटु हिमालबाट आएका शेर्पाहरूको टोली उद्धारमा खटिएका छन् । नेपाल सरकारले पनि इस्लामावादस्थित दूतावासमार्फत समन्वय गरिरहेको छ ।

सबैको मनमा एउटै आस छ– निम्स दाइ, जसले आफूलाई ‘एन्टिबायोटिक मनुष्य’ भन्छन्, उनले यो मृत्युको हिउँपहिरोलाई पनि जितेर फर्कनेछन् ।

सम्बन्धित खबर