
रौतहट : तराई–मधेशका विभिन्न जिल्लाहरूमा हालै विकसित अवाञ्छित घटना र त्यसले सिर्जना गरेको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै रौतहटका क्रियाशील राजनीतिक दल, प्रशासन तथा नागरिक समाजका प्रतिनिधिहरूले जिल्लाको धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्न एकबद्ध हुने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लालाई धार्मिक तथा सामाजिक सहिष्णुताको नमूना जिल्ला बनाउने संकल्प गरेको छ ।
बैठकमा हालै सुनसरीमा बोलबमका काँवरियाहरूमाथि भएको दुखद् आक्रमणप्रति गम्भीर दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।
पछिल्लो समय सिरहा, सुनसरी, धनुषा लगायतका जिल्लाहरूमा घटेका घटना र त्यसपछि मधेशमा सिर्जना भएको संवेदनशील वातावरणबारे बैठकमा विस्तृत छलफल भएको थियो । आन्दोलनका नाममा निहत्था जनतामाथि राज्य पक्षबाट हुन सक्ने अधिक बल प्रयोग र हिंसा रोक्न तथा शान्तिपूर्ण वातावरण कायम गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिइएको छ ।
बैठकले छिमेकी जिल्लाहरूमा भएका घटनाको नकारात्मक प्रभाव रौतहटमा पर्न नदिने र कुनै पनि किसिमको धार्मिक वा साम्प्रदायिक विद्वेष, उत्तेजना र उच्छृंखल गतिविधिलाई प्रश्रय नदिने स्पष्ट अडान लिएको छ ।
बैठकबाट रौतहटमा परापूर्वकालदेखि कायम रहँदै आएको भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने झुठा, भ्रामक तथा साम्प्रदायिक भावना भड्काउने समाचार र अफवाहहरूको सम्प्रेषण नगर्न र त्यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपिल गर्ने निर्णय भएको छ । यस्तै कसैको पनि धार्मिक आस्था र विश्वाससँग खेलवाड गर्न नदिने र धार्मिक सहिष्णुता कायम राख्ने, जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न जनप्रतिनिधि, स्थानीय तह, धार्मिक अगुवा, समाजसेवी, बुद्धिजीवी,सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा नागरिक समाजलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्ने निर्णय भएको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्लालाई धार्मिक तथा सांस्कृतिक सहिष्णुताको नमुना बनाउन सबै सरोकारवाला पक्षहरू संयुक्त रूपमा पहल गर्न सहमत भएको जानकारी दिए । उनले जिल्लामा कुनै पनि प्रकारको अप्रिय घटना हुन नदिन प्रशासन सतर्क रहेको र स्थानीय नागरिक समाज तथा राजनीतिक दलहरूको सहयोग प्रशंसनीय रहेको बताए ।
त्यसैगरी बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना कार्यकर्ता र आम नागरिकलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न प्रेरित गर्ने प्रतिबद्धता जनाए । उक्त सर्वपक्षीय बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, धार्मिक अगुवाहरू, सञ्चारकर्मीहरू र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।