
नवलपरासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले लामो समयदेखि रिक्त रहेको नेतृत्वलाई पूर्णता दिँदै कार्यवाहक अध्यक्ष र कार्यवाहक उपाध्यक्ष चयन गरेको छ ।
शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले वडा नं. ६ का वडाध्यक्ष कृष्ण चन्द्र यादवलाई सर्वसम्मत रूपमा कार्यवाहक गाउँपालिका अध्यक्षको जिम्मेवारी दिएको छ । त्यसैगरी गाउँ कार्यपालिकाकी सदस्य अनामिका कुमारी हरिजनलाई कार्यवाहक गाउँपालिका उपाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।
गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पद अदालत र निर्वाचन आयोगको निर्णयपछि रिक्त भएको अवस्थामा स्थानीय सरकार सञ्चालन ऐनअनुसार गाउँ कार्यपालिकाले नयाँ कार्यवाहक नेतृत्व चयन गरेको हो । यसअघि गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका थिए भने उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना)को पद निर्वाचन आयोगको निर्णयपछि रिक्त भएको थियो । उपाध्यक्ष अन्सारीले आफ्नो पद कायम गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटसमेत खारेज भएपछि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएका थिए ।
दुवै प्रमुख पद रिक्त भएपछि गाउँपालिकाको प्रशासनिक तथा विकास निर्माणका काम प्रभावित हुँदै आएका थिए । नेतृत्वको अभाव अन्त्य गर्न गाउँ कार्यपालिकाले कानुनी व्यवस्था अनुसार कार्यवाहक अध्यक्ष र उपाध्यक्ष चयन गरेको जनाएको छ ।
नवनियुक्त कार्यवाहक अध्यक्ष यादव यसअघि वडा नं. ६ का वडाध्यक्षका रूपमा निर्वाचित भई कार्यरत थिए भने कार्यवाहक उपाध्यक्षको जिम्मेवारी पाएकी हरिजन गाउँपालिकाको कार्यपालिका सदस्यका रूपमा सक्रिय रहँदै आएकी थिइन् ।
नयाँ नेतृत्व चयनसँगै गाउँपालिकाको दैनिक प्रशासनिक कार्य, विकास निर्माणका योजना, सेवा प्रवाह तथा नीतिगत निर्णयहरू नियमित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि लामो समयदेखि नेतृत्वविहीन बनेको गाउँपालिकाले अब आवश्यक निर्णय समयमै गर्दै विकास निर्माणका कामलाई गति दिने विश्वास व्यक्त गरेका छन् ।
कार्यवाहक अध्यक्ष र उपाध्यक्षले कानुनी व्यवस्था तथा आफ्नो अधिकार क्षेत्रभित्र रही गाउँपालिकाको प्रशासनिक तथा विकासात्मक कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।