२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

'उद्योग, वातावरण र समुदायबीच सहकार्य आवश्यक'

Nada
सूर्यप्रसाद भुसाल
२०८३ साउन १५ गते २१:०७
Shares
'उद्योग, वातावरण र समुदायबीच सहकार्य आवश्यक'

अर्घाखाँची : औद्योगिक विकास र वातावरण संरक्षण परस्पर विरोधी नभई एकअर्काका परिपूरक भएको भन्दै विकाससँगै वातावरणीय जिम्मेवारीलाई समान प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

ncell

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–७, खाँचीकोटमा शुक्रबार आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी वक्ताहरूले विकासका परियोजना वातावरणीय जिम्मेवारी र स्थानीय समुदायको विश्वाससँग जोडिएर अघि बढे मात्र दिगो परिणाम हासिल गर्न सकिने बताएका हुन् । 

भुगर्भ सिमेन्ट लिमिटेडको सहयोग तथा सिता चुली–म्युदाँडा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा सन्धीखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसी, भुगर्भ सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष नन्दी केशर पौड्याल, कम्पनीका प्रबन्ध निर्देशक दीपक गिरी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, पूर्व अध्यक्ष सोभाखर पन्थी, उपाध्यक्ष रुद्रमणि भुसाल, वन अधिकृत नवीन पराजुलीलगायत जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै भुगर्भ सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष नन्दी केशर पौड्यालले उद्योगको मूल उद्देश्य विकास र वातावरणबीच सन्तुलन कायम गर्नु रहेको बताए । 

‘विकास र वातावरण संरक्षण एकअर्काका प्रतिस्पर्धी होइनन्, दुवैलाई सँगसँगै अघि बढाउन सकिन्छ,’ भन्दै उनले उद्योगले वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे । 

उनका अनुसार भुगर्भ सिमेन्ट लिमिटेडले २०५६ सालदेखि कानुनबमोजिम चुनढुंगा खानी सञ्चालन गर्दै आएको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) तथा प्रचलित कानुनी मापदण्डको पूर्ण पालना गर्दै उद्योग सञ्चालन भइरहेको उनले जानकारी दिए । 

उनले उद्योगको आर्थिक तथा सामाजिक योगदानबारे जानकारी दिँदै २०७६ सालयता मात्र नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित निकायलाई १४ करोड ३४ लाखभन्दा बढी राजस्व, रोयल्टी तथा सामाजिक योगदान उपलब्ध गराइएको बताए । 

करिब ३ अर्ब निजी लगानी रहेको उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २०० जनाले रोजगारी प्राप्त गरिरहेको उनको भनाइ थियो । 

उद्योगले उत्पादनसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिएको उल्लेख गर्दै उनले स्थानीय विद्यालयमा शिक्षकको तलब व्यवस्थापन, वृक्षारोपण, धुलो नियन्त्रण, सडक निर्माण तथा मर्मत, विपद्का समयमा राहत वितरण, विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउने तथा प्रभावित स्थानीय बासिन्दालाई सहुलियत दरमा सिमेन्ट उपलब्ध गराउनेलगायतका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए । 

उनले उद्योगको उद्देश्य केवल सिमेन्ट उत्पादनमा सीमित नरही अर्घाखाँचीको आर्थिक विकास, स्थानीय रोजगारी सिर्जना, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनु रहेको बताए । 

चुनढुंगा खानी सञ्चालनसँग सम्बन्धित विषयहरूलाई संवाद, तथ्य, कानुनी प्रक्रिया र आपसी सहकार्यका माध्यमबाट समाधान गर्दै उद्योग सञ्चालनको वातावरण अझ विश्वासिलो बनाउन सबै राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकाय, सञ्चारमाध्यम, नागरिक समाज तथा स्थानीय समुदायको सकारात्मक सहयोग आवश्यक रहेको उनले उल्लेख गरे । 

कार्यक्रममा सहभागी वक्ताहरूले वृक्षारोपणलाई औपचारिक कार्यक्रमका रूपमा नभई वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण तथा भावी पुस्ताप्रतिको जिम्मेवारीसँग जोडिएको अभियानका रूपमा लिनुपर्ने धारणा राखेका थिए । स्थानीय समुदाय, उद्योग र सामुदायिक वनबीचको सहकार्यले विकास र वातावरण संरक्षणलाई एकैसाथ अघि बढाउन सकिने विश्वास उनीहरूले व्यक्त गरे । 

वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै संरक्षणको सामूहिक प्रतिबद्धता पनि व्यक्त गरिएको थियो । सहभागीहरूले रोपिएका बिरुवाको नियमित संरक्षण र हुर्काउने दायित्व सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेका थिए ।

कार्यक्रमको समापन गर्दै आयोजकले भुगर्भ सिमेन्ट लिमिटेडले आगामी दिनमा पनि वातावरण संरक्षण, स्थानीय विकास, रोजगारी विस्तार तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता दोहो¥याएको जनाएको छ । उद्योगले आर्थिक समृद्धि, वातावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई समान महत्व दिँदै जिम्मेवार औद्योगिक संस्थाका रूपमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित खबर