
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । शुक्रबार मधेशकेन्द्रित दलका शीर्ष नेताहरूसँग भएको करिब दुई घण्टाको छलफलमा उनले यस्तो धारणा राख्दै संघीय व्यवस्थाप्रति सरकारको प्रतिबद्धता दोहोर्याएका हुन् ।
छलफलका क्रममा हिन्दु राष्ट्रको मुद्दा उठेपछि प्रधानमन्त्री शाहले उक्त अवधारणा राजतन्त्रसँग जोडिएर आउने भएकाले वर्तमान अवस्थामा उपयुक्त विकल्प नभएको बताएका थिए । जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माका अनुसार प्रधानमन्त्री शाहले ‘हिन्दु राष्ट्र आएपछि राजा पनि सँगै आउने भएकाले अहिले त्यसतर्फ जानु उचित हुँदैन’ भन्ने धारणा व्यक्त गरेका थिए । उनले संघीय प्रणालीलाई कमजोर पार्ने कुनै पनि कदमको पक्षमा सरकार नरहेको स्पष्ट संकेत दिएका थिए ।
बैठकमा सहभागी राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पनि प्रधानमन्त्री शाह र उनको दल संघीयताको पक्षमा दृढ रहेको बताए । उनले मधेशमा देखिएको साम्प्रदायिक तनावलाई समाधान गर्न सरकार गम्भीर रहेको र सबै राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
छलफलमा मधेश क्षेत्रका समसामयिक राजनीतिक, सामाजिक तथा साम्प्रदायिक विषयहरूमा विस्तृत कुराकानी भएको थियो । प्रधानमन्त्री शाहले केही समूहहरूले साम्प्रदायिक द्वन्द्व भड्काएर स्वार्थ सिद्ध गर्न खोजिरहेको भन्दै त्यसविरुद्ध सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए । साथै, छानबिन प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि कारबाही गरिने र पीडितसँग भएका पूर्वसम्झौताहरू कार्यान्वयन गरिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।