२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी घोषणा

Nada
२०८३ साउन १५ गते १३:४९
Shares
जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी घोषणा

अमेरिका : नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्डका गौतम दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।  

ncell

नेपाली जनसम्पर्क समिति, अमरिकाको तेश्रो केन्द्रीय अधिवेशन अगष्ट १४, १५ र १६ तारिख भर्जिनिया राज्यमा सम्पन्न हुन लागिरहेको छ । दाहाल केन्द्रीय अधिवेशन तयारी समितिका सदस्य सचिव हुन् ।

आफ्नो उम्मेदवारी घोषणा संगै दाहालले समितिको नेतृत्वमा रहेर आफूले काम गर्न चाहेका एजेन्डा पनि सार्वजनिक गरेका छन् ।  सांगठिनक संरचनालाई मजबुत बनाउने, नेपाल र अमेरिका वीच नागरिकस्तरको सम्वन्ध विस्तार गर्ने, दोश्रो पुस्तालाई विभिन्न फोरमहरूमा सक्रिय वनाउने लगायतका एजेन्डा तय गरेका छन् ।

यसैगरी आर्थिक पारदर्शीतालाई आफ्नो एजेण्डाको प्रमूख प्राथमिकतामा राखेको उल्लेख गर्दै दाहालले भनेका छन्- 'आर्थिक अनुशासन र पारदर्शीतालाई म पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु। ' उनले संस्थाको विश्वास र भरोसा भनेको नै आर्थिक पारदर्शीतामा रहने भन्दै यस मामिलामा आफ्नो कुनै सम्झौता नहुने प्रतिवद्धता जनाए । 'म मेरो कार्यकालमा कुनै प्रश्न नउठ्ने गरी काम गर्नेछु, मेरा हातहरू सफा छन् र सफा नै राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। ' 

दाहालले अमेरिकामा रहेका विभिन्न च्याप्टरहरूको सहकार्य र सहभागितामा प्रविधिमैत्री कार्यक्रमहरू सञ्चालन गर्ने आफनो एजेण्डामा उल्लेख गरेका छन्। उनको एजेण्डामा अमेरिकामा वसेर विभिन्न क्षेत्रमा ख्याति कमाएका, अनुभवी व्यक्तित्वहरूको समेत सहभागिताामा थिङ्क टयांक – बौद्धिक समूह) स्थापना गरेर विभिन्न विषयमा औपचारिक धारणाहरू समेत सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

संस्थागत सुशासन, विधान सम्मत कार्ययोजना र आर्थिक विवरणलाई थप पारदर्शी वनाएर चुस्त संगठन निर्माणमा योगदान दिने दाहालको एजेण्डामा समावेश गरिएको छ । उनले अमेरिकाको विभिन्न तहको सरकारमा रहेका नेपाली मूलका अमेरिकीहरू निर्वाचित प्रतिनिधिहरूसँग मिलेर नेपालको हितको पक्षमा वकालत गर्ने र संघीय संसदको तहमा विगतमा क्रियाशील रहेको नेपाल सरोकार समूह- नेपाल ककसलाई पुन: सक्रिय बनाउन लबिङ्ग गर्ने प्रतिवध्दता समेत जनाएका छन् ।

अमेरिकामा रहेको नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको अर्धकदको शालिकलाई आफ्नो कार्यकालमै कुनै सार्वजनिक पार्क वा स्थानमा राख्नको लागि पहल गर्ने, नेपालीहरूको पहुँच र प्रभाव रहेको विभिन्न राज्यको समुदायमा स्थानीय बाटो र गल्लीहरूको नाम नेपालको नाममा राख्न स्थानीय एवं राज्य सरकारसंग समन्वय गर्ने र समितिका च्याप्टरहरूलाई वार्षिक क्यालेन्डर बनाएर कार्य तालिका अनुसार काम गर्नुपर्ने गरी योजना बनाउने एजेन्डा सार्वजनिक गरेका छन् । 

दाहालको योजना र उम्मेदवारीको समर्थनमा जनसम्पर्क समितिका मतदाताहरू र अन्य सहभागीहरूले समर्थन जनाउंदै ऐक्यवद्धता व्यक्त गरेका छन् ।

अध्यक्षको दावी गरेका दाहाल को हुन् ? 

शहीदभूमि ओखलढुंगामा जन्मिएका गौतम दाहाल विद्यार्थी जीवनसंगै नेपाल विद्यार्थी संघमार्फत सक्रिय रहेर काम गरेका जुझारु व्यक्ति हुन् । नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला सदस्य, नेपाल विद्यार्थी संघ ओखलढुंगा- काठमाडौ सम्पर्क समितिको सभापति समेत भएर काम गरिसकेका दाहाल तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राइको प्रेस सल्लाहकार समेत थिए । पारिवारिक राजनीतिक विरासतमा जोडिएका दाहालको पाटो राजनीति संगै पत्रकारितामा पनि जोडिएको छ । 

दाहाल विगत २१ वर्षदेखि अमेरिकामा बसोवास गर्छन् र नेपाली जनसम्पर्क समिति,अमेरिकाको विभिन्न जिम्मेवारीमा रहेर निरन्तर काम गर्दै आइरहेका छन् । दाहाललाई चिन्नेहरू नेपाली कांग्रेसको कर्मठ र निरन्तर सक्रिय हुन सक्ने प्रतिवद्ध व्यक्तिको रूपमा उनलाई लिन्छन् । सन् २००७ देखि उनी नेपाली जनसम्पर्क समिति,अमेरिकाको विभिन्न जिम्मेवारीमा रहँदै हाल उनी कांग्रेस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छन् । समितिको निवर्तमान प्रचार विभाग प्रमूख र प्रवक्ता रहेका दाहाल कांग्रेसको प्रचार विभाग अन्तर्गत विभिन्न जिम्मेवारीमा समेत रहेर काम गरेका छन् । यसैगरी उनले एनआरएन आइसीसीको भाषा,साहित्य सम्वर्द्धन समितिमा समेत रहेर काम गरेका छन् । 

नेपालमा रहँदा रेडियो नेपाल, इमेज टेलिभिजन, नेपाल १ टेलिभिजन र हिमालय टाइम्स,राष्ट्रपुकार,नेपालवाणी,नेपाल जागरणलगायतका मिडियामा काम गरेको अनुभव दाहालसँग छ । 

दाहाल ग्लोब नेपाल डट कमका संस्थापक सम्पादक र ग्लोब नेपाल मिडिया हाउसका अध्यक्ष हुन् । अमेरिकामा उनी नेपाल अमेरिका पत्रकार संघको निर्वाचित अध्यक्ष भएर काम गरेका छन् भने बाल्टिमोरमा रहेका नेपालीहरूको संस्था बानाको निर्वाचित महासचिव समेत भएर काम गरेका छन् । 

अमेरिकामा रहेका नेपालीहरू माझ स्पष्ट वक्ता, सक्रिय सहभागिता र जनसम्पर्क समितिको एक खम्बाको रुपमा दाहालले ख्याति कमाएका छन् ।

सम्बन्धित खबर