
काठमाडौं : देशका केही स्थानमा पछिल्ला दिनहरूमा देखिएको असहज परिस्थितिलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई आग्रह गरेको छ । सशस्त्र प्रहरीले समन्वयात्मक ढंगबाट देशभर सुरक्षा परिचालन गर्दै परिस्थिति नियन्त्रणमा राख्ने प्रयास भइरहेको जनाएको छ ।
नेपाली समाजले परम्परागत रूपमा आपसी सहिष्णुता, सहअस्तित्व र भाइचारा कायम राख्दै जटिल समस्याहरू समेत संवाद र समझदारीका माध्यमबाट समाधान गर्दै आएको स्मरण गराउँदै सशस्त्र प्रहरीले समाजमा देखिने मतभेद र असमझदारी समाधान गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको बताएको छ ।
सशस्त्रले हुलहुज्जत, हिंसा, तोडफोड र आगजनी जस्ता गतिविधिले समस्या समाधान गर्नुको सट्टा झन् सामाजिक सद्भाव र राष्ट्रिय एकतामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ । यस्ता कार्यले दीर्घकालीन रूपमा समाजलाई अपूरणीय क्षति पुर्याउने भएकाले कुनै पनि उत्तेजनामा नआउन सबैलाई आग्रह गरिएको छ ।
घटनासम्बन्धी निष्पक्ष छानबिन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै सशस्त्र प्रहरीले अहिलेको समयमा संयमता, धार्मिक सहिष्णुता र सामाजिक एकताको उदाहरण प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याएको छ । कुनै पनि धर्म, समुदाय वा समूहप्रति द्वेष फैलाउने गतिविधिले परिस्थिति अझ जटिल बनाउने भन्दै त्यस्ता कार्यबाट टाढा रहन आग्रह गरिएको छ ।
साथै, भ्रामक सूचना तथा उत्तेजक अभिव्यक्तिको प्रचार–प्रसारण नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।