
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल सुरु गरेका छन् ।
शुक्रबार पार्टीको संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मौलाना नजरुल हुसैन फलाही र जमिअत उलमाए नेपालका अध्यक्ष मुफ्ती मौलाना खालिद सिद्दीकीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा देशमा शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
यसैगरी, उनले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी तथा सचिवालय सदस्य राजुराज फुयालसँग पनि भेट गरेका छन् । उक्त भेटमा वर्तमान परिस्थितिमा धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भाव कायम राख्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार समाजमा आपसी विश्वास, सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउन विभिन्न धार्मिक समुदायका प्रतिनिधिसँग संवादलाई निरन्तरता दिइनेछ ।