
इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारले सातबुँदे सहमति गरेको छ ।
सहमतिअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री तथा पीडित परिवारका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने सहमतिमा उल्लेख छ । साथै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत र त्यससँग सम्बन्धित विषयमा तत्काल छानबिन सुरु गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ ।
सहमतिअनुसार प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ । घटना अध्ययन तथा छानबिन समितिको प्रतिवेदनमा समेटिएका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गरिने र स्थानीय सरकारसँगको समन्वयमा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गरिनेछ ।
सहमतिपछि पीडित परिवारले सरकारका प्रतिबद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । गृह मन्त्रालयले सहमतिका सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
गत साउन १० गते कमानागाछीमा भएको घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो । त्यसयता घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलन हुँदै आएको थियो ।
