
काठमाडौं : सिरहाको गोलबजारमा बिहीबार प्रहरीको गोली लागेर गणेश यादवको ज्यान गयो । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा हिन्दु–मुस्लिम समुदायका नाममा सुरु भएको तनाव फैलिँदा प्रहरीको गोली लागेर तीनजनाले ज्यान गुमाइसकेका छन् भने थुप्रै घाइते छन् ।
कप्तानगन्जमा गत साउन १० गते राति दुई धार्मिक समूहबीच झडप भएको थियो । नियन्त्रण गर्न गएको प्रहरीले गोली चलाउँदा देवानगन्ज–३का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सोही घटनामा घाइते भएका कप्तानगन्जका अर्का युवा २१ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार नै मृत्यु भयो । विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए । काफ्लेका अनुसार, उनको पेटमा गोली लागेको थियो । मेहता सिटी सफारीचालक हुन् । घटनामा घाइते भएका अन्य आठजनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको काफ्लेले जनाए ।
गोलबजारमा प्रहरीको गोली लागेका अर्का एक युवक थप उपचारका लागि काठमाडौं ल्याइएको सिरहाका एसपी बासुदेव पाठकले जानकारी दिए । प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति नियन्त्रणबाहिर जाने अवस्था आएपछि हवाई फायर गरेको प्रहरीको दाबी छ । तर, हवाई फायरको गोली लागेर मान्छे मर्ने अवस्था कसरी आयो भन्ने प्रश्नको जवाफ प्रहरीले दिन सकेको छैन । सुनसरीबाट सुरु भएको सामुदायिक तनाव सिरहा हुँदै जनकपुर, पर्सा, बारालगायत मधेशका जिल्लामा फैलिँदै गएको छ ।
बिहीबार दिउँसो जनकपुरमा तीन बालकमाथि आक्रमण भएपछि परिस्थिति बिग्रिन पुग्यो । उनीहरूमध्ये एकको अवस्था गम्भीर छ । यी घटनाले समाजमा थप त्रास बढाएको छ । सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा अंगका प्रमुखहरूसँग किन र कसले गोली चलायो भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्री वालेन्द्र शाहले समेत सुरक्षा प्रमुखहरूलाई सोही प्रश्न गरेका थिए ।
भिड नियन्त्रणबाहिर जाने अवस्था बनेको खण्डमा आवश्यकताअनुसार हवाई फायर र घुँडामुनि गोली चलाउने आदेश प्रमुख जिल्ला अधिकारीले दिनसक्ने व्यवस्थाअनुसार गोली चलेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘कसले गोली चलायो भन्नेसमेत सार्वजनिक गर्न थाल्यो भने दंगा नियन्त्रणमा कुनै प्रहरी पनि भिडमा जाने अवस्था रहँदैन,’ उनले भने । सुरक्षा प्रमुखहरूले तराई–मधेसको तनावको प्राविधिकभन्दा सामाजिक समाधान खोज्नुपर्ने सुझाव दिएका छन् ।
सुनसरी घटनापछि प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले सुरक्षा निकाय प्रमुखहरूसँगको संवादलाई बाक्लो बनाएका छन् । बुधबार साँझ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सेनाका उच्च तहका अधिकारीसित छलफल गरेका प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखे । उक्त बैठकले सुनसरी घटनाबारे छलफल गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना कायम गर्न प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने÷गराउने निर्णय गरेको परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले बताए ।
छलफलका क्रममा चारवटै सुरक्षा संयन्त्रले द्वन्द्व फैलिन सक्ने विश्लेषणसहित राजनीतिक पहल नलिईकन अवस्था सामान्य हुन नसक्ने ‘ब्रिफिङ’ गरेका थिए । सशस्त्र प्रहरीका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूले गोली चलेको विषयमा केन्द्रित हुनुभन्दा द्वन्द्व व्यवस्थापनका उपायका बारेमा बढी चासो दिनुपर्ने हो,’ उनले मध्यान्हसँग भने, ‘राजनीतिक नेतृत्वबाट समन्वयात्मक भूमिकामा कमजोरी रहँदा कोशीको समस्या मधेशसम्म आइपुगेको छ । यद्यपि हामीले यसलाई व्यवस्थापन गर्न सकिन्छ भनेर लागेका छौं ।’
सिरहा घटनापछि स्थानीयमा आक्रोश बढेको छ । आन्दोलनकारीले गोलबजारमा रहेको एबी मलमा आगजनी गर्दा ठुलो क्षति भएको छ । उनीहरूले ठाउँ–ठाउँमा प्रदर्शन र आगजनी गर्दै असामान्य अवस्था बन्ने भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । चार दिनयता नेपालको सुरक्षा संयन्त्रको पूरा ध्यान तराईकेन्द्रित छ । पछिल्लो स्थिति सम्हाल्न स्थानीय प्रशासनले कफ्र्यु जारी गरे पनि त्यहाँको अवस्था अझै साम्य भएको छैन । नेपाली सेना परिचालन गरिएको छ भने कोशी र मधेशका दर्जनभन्दा बढी जिल्लामा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले स्थितिलाई सामान्य अवस्थामा ल्याउन सबै सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको बताए । ‘कोशी र मधेश प्रदेशमा उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्ने कुरामा हामीले उच्च सतर्कताका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘धार्मिक तथा सम्प्रदायका नाममा हुने त्यस्ता हिंसाजन्य गतिविधि बढ्न नदिन सुरक्षा संयन्त्र सचेततासाथ लागेको छ ।’ यस्ता गतिविधिले कसैलाई पनि फाइदा नपुग्ने हुँदा सबै धार्मिक समुदायबीच आपसी सद्भाव कायम राख्दै उत्पन्न परिस्थितिलाई साम्य बनाउन पौडेलले आग्रह गरे ।
नेपाल प्रहरीले पनि सामाजिक सद्भाव भड्काउने गतिविधिमा कोही पनि सहभागी नहुन आग्रह गरेको छ । सुरक्षा संयन्त्रहरूले सकेको काम गरिरहेका भए पनि सरकारका तर्फबाट हुनुपर्ने स्थानीय, प्रदेश तथा राष्ट्रिय स्तरको राजनीतिक संवाद भने कमजोर देखिएको छ । प्रधानमन्त्री शाहले गर्नुपर्ने उच्च राजनीतिक संवाद र समस्या समाधानका लागि आवश्यक कदमबारे मौन छन् । प्रधानमन्त्रीको मौनताप्रति प्रतिनिधिसभामै चर्को विरोध भएको छ ।
सद्भावको पक्षमा एकताबद्ध
सुनसरीको देवानगन्ज घटनापछि बढ्दै गएको तनावलाई अन्त्य गर्न राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलहरू, पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीहरूले आह्वान गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदिऔंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै सदिऔंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताएका छन् । उनले भने, ‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गर्दछु ।’
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तराईका विभिन्न क्षेत्रमा केही दिनयता देखिएको तनावग्रस्त गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सामाजिक सद्भाव, एकता र शान्ति कायम राख्न सबैमा आग्रह गरेका छन् । नेपाली समाजको विशेषता आपसी सहअस्तित्व, सद्भाव र सहकार्य रहेको उल्लेख गर्दै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई सामाजिक सद्भाव कायम राख्दै शान्ति, एकता र सहकार्यको मार्ग अपनाउन अनुरोध गरे ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्धनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टीका कोशी तथा मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछानेले सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्धनका साथै प्रभावित जिल्लामा अवस्था सामान्यीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशका विभिन्न स्थानमा बढ्दो धार्मिक तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले शान्ति, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबैसँग अपिल गरेका छन् । बिहीबार जारी गरेको अपिलमा उनले सुनसरीको देवानगन्जबाट सुरु भएको तनाव सिरहाको गोलबजार, धनुषाको जनकपुर र पर्साको वीरगन्जसम्म फैलिएको उल्लेख गरेका छन् । यस क्रममा तीनजनाको मृत्यु भएको र धेरै घाइते भएकोप्रति उनले दुःख व्यक्त गरेका छन् । आङ्देम्बेले नेपाल विविध धर्म, भाषा र संस्कृतिको साझा देश भएको बताएका छन् । ‘नेपाल विविध धर्म, भाषा, संस्कृति र समुदायको साझा फूलबारी हो । यही विविधताभित्रको एकता हाम्रो सबैभन्दा ठुलो शक्ति हो,’ उनले भने ।
त्यस्तै, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले उक्त घटनाका सन्दर्भमा जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालालाई चारबुँदे अपिल गरे । सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्दै उनले उत्पन्न तनावग्रस्त परिस्थितिमा राज्य पक्षबाट भएको बल प्रयोगको घटनाप्रति आपत्ति जनाए । विज्ञप्ति जारी गर्दै उनले अमानवीय क्रम रोकिनुको सट्टा झन् उग्र बन्दै भएको टिप्पणी गरे ।
त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय विकसित भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरिन् । विज्ञप्ति जारी गर्दै उनले ती घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी हुन् । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै भण्डारीले विभिन्न समुदायबीचको आपसी सद्भाव र सहअस्तित्व नै राष्ट्रिय शक्तिको आधार भएको बताइन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा देखिएको सामाजिक र धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति चिन्ता व्यक्त गर्दै नेपालीबीचको एकता र मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताए । आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्रका अन्य भू–भागमा समेत फैलिएर जनजीवन अशान्त बनेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उनले बिहीबार जारी गरेको ‘सद्भाव सन्देश’ उल्लेख छ ।
नेकपाका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर भएका घटनाबारे विस्तृत अध्ययन गर्न सरकारलाई आग्रह गरे । साथै, घटनाप्रति चिन्ता व्यक्त गर्दै सबै संयमित हुन आग्रह गरे । ‘यसले कतै ठुलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ,’ प्रचण्डले भने, ‘यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो ? के त्यहाँ गोली चलाउनैपर्ने अवस्था थियो ? समस्या समाधानका अन्य उपाय र विकल्पमा के कति पहल गरियो या गरिएन ?’ यसबारे सरकारको ध्यानाकर्षण गराए ।
मधेशको सन्देश
निष्पक्ष तथा पारदर्शी छानबिन गरी पीडितलाई न्याय दिन मधेशवादी नेताहरूले सरकारसँग माग गरेका छन् । सामूहिक रूपमा वक्तव्य जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र निःशुल्क उपचार तथा आवश्यक राहतको व्यवस्था गर्न माग गरे ।
साम्प्रदायिक तनावजस्तो संवेदनशील अवस्थामा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रहेर काम गर्नुपर्नेमा नेताहरूले जोड दिए । घटनापछि भएको प्रहरी हस्तक्षेप र बल प्रयोगका विषयमा गम्भीर प्रश्न उठेकाले यसको सत्यतथ्य निष्पक्ष र पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, घटनामा मृत्यु भएका व्यक्तिलाई राज्यले तत्काल सहिद घोषणा गरी उचित क्षतिपूर्ति, परिवारका सदस्यका लागि रोजगारी तथा आवश्यक सामाजिक सुरक्षा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।