
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।
प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे । घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।
उनले घटना भएलगत्तै सुरक्षा निकायहरू परिचालन गरी अवस्था नियन्त्रणमा लिने, थप अप्रिय घटना हुन नदिने तथा शान्ति–सुरक्षा कायम गर्ने प्रयास भइरहेको बताए । गृह मन्त्रालयले घटनाको छानबिनका लागि समिति गठन गरिसकेको उल्लेख गर्दै छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाए ।
प्रधानमन्त्रीले परिस्थिति सामान्य बनाउन केन्द्रमा सर्वदलीय बैठक आह्वान गरी छलफल गरिएको बताए । स्थानीय जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको र गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर पीडित पक्षसँग भेटघाट तथा सुरक्षा अवस्थाको अनुगमन गरिरहेको उनले बताए । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयसमेत गरिएको उनले जानकारी दिए ।
सम्बोधनमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार–प्रसार नगर्न सबैलाई आग्रह गरे । सरकारका आधिकारिक निकायबाट जारी गरिएका तथ्य र सूचनामात्र विश्वास गर्न उनले अनुरोध गरे ।
उनले प्रत्येक नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र शान्ति कायम गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा सामाजिक सद्भाव र भाइचारामा खलल पुर्याउने गतिविधिप्रति सरकार शून्य सहनशीलताका साथ प्रस्तुत हुने चेतावनी दिए ।
प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै सरकार त्यसको संरक्षणमा पूर्ण प्रतिबद्ध रहेको बताए । कुनै एक स्थानमा भएको दुःखद घटनालाई आधार बनाएर कुनै सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा अन्य स्थानमा प्रतिशोधको भावना फैलाउनु कुनै पनि दृष्टिले उचित नहुने उनको भनाइ थियो ।
उनले धर्मले समाजलाई जोड्ने, प्रेम र सहिष्णुता फैलाउने सन्देश दिने उल्लेख गर्दै कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनलाई समर्थन नगर्ने बताए ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले सबै नागरिक, नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल र सञ्चारमाध्यमलाई संयमता अपनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र भाइचारा कायम राख्न सहयोग गर्न अपिल गरेका छन् ।
सम्बोधनको पूर्णपाठ
आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,
म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु।
१) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।
२) घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ।
३) घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति-सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो-कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।
४) अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ।
५) स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति-सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ। साथै, देशको समग्र शान्ति-सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ।
६) यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गर्दछु। साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।
७) प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्। शान्ति-सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ।
८) नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।
९) धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।
१०) देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन।
आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,
११) हाम्रो इतिहास साक्षी छ— कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्।
१२) हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ।
१३) हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी।
धन्यवाद।