
नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका–३, काउलेकी ११ वर्षीया तेक्वान्दो खेलाडी दिपश्री तामाङले चीनमा आयोजित हाइनान बिच कप अन्तर्राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि १ रजत तथा २ कास्य पदक जित्न सफल भएकी छन् ।
प्रतियोगितामा दिपश्रीले केरुगी विधामा रजत पदक तथा पुम्से र जम्प रोप विधामा समान एक-एक कांस्य पदक जित्दै सानै उमेरमै अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएकी हुन् ।

हाल काठमाडौंको ठुलोभर्याङस्थित लायन मार्सल आर्ट तेक्वान्दो डोजाङमा नियमित प्रशिक्षणरत दिपश्री सानै उमेरदेखि जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभाशाली खेलाडी हुन् । निरन्तरको मेहनत, अनुशासन र प्रशिक्षणका कारण उनले अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो क्षमता प्रमाणित गर्न सफल भएकी छन् ।
११ वर्षको उमेरमै हासिल गरेको यो उल्लेखनीय सफलताले किस्पाङ गाउँपालिका–३, काउलेसहित समग्र नुवाकोट जिल्लालाई गौरवान्वित बनाएको छ । दिपश्रीको उपलब्धिप्रति खेलकर्मी, प्रशिक्षक, स्थानीयवासी तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ ठुलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
