
दोहा कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) कतारले कतारसहित मध्यपूर्वका मुलुकमा कार्यरत नेपाली श्रमिकहरूको हक, अधिकार, सुरक्षा तथा न्यायसँग सम्बन्धित विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । एनसिसी कतारका उपाध्यक्ष जहागीर आलमले सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा श्रममन्त्री रामजी यादवलाई भेटेर आधिकारिक ध्यानाकर्षण पत्र बुझाउँदै वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या समाधानका लागि तत्काल तथा दीर्घकालीन नीति अवलम्बन गर्न आग्रह गरेका हुन् ।
भेटवार्ताका क्रममा कतारलगायत मध्यपूर्वका मुलुकमा कार्यरत लाखौं नेपाली श्रमिकहरूले भोगिरहेका श्रम शोषण, तलब नपाउने, कम्पनी फरार हुने, सिभिल आइडी नबन्ने, कानुनी झमेलामा फस्ने, जेल सजाय भोग्नुपर्ने तथा उद्धार र कानुनी सहायताको अभावजस्ता समस्याबारे विस्तृत छलफल भएको थियो । पत्रमार्फत समस्यामा परेका नेपाली श्रमिकको तत्काल उद्धार, राहत तथा कानुनी सहायता उपलब्ध गराउन, वैदेशिक रोजगारीका नाममा हुने ठगी, म्यानपावर कम्पनीसँग सम्बन्धित विकृति तथा श्रमिक शोषण नियन्त्रण गर्न प्रभावकारी कानुनी र नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ ।
एनसिसीले विशेष गरी वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका श्रमिक पुनः रोजगारीका लागि खाडी मुलुक जाँदा पुराना मुद्दा, बाँकी जरिवाना वा यात्रा प्रतिबन्धका कारण विमानस्थलमै रोकिने र पुनः जेल जानुपर्ने समस्या गम्भीर बन्दै गएको उल्लेख गरेको छ । श्रम स्वीकृति, भिसा, टिकट तथा अन्य तयारीमा ठुलो रकम खर्च गरिसकेपछि अन्तिम समयमा उडान रोकिँदा श्रमिक र उनका परिवार गम्भीर आर्थिक तथा मानसिक पीडामा पर्ने गरेको एनसिसीको भनाइ छ ।
यस्तो समस्या समाधानका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासले सजाय भुक्तान गरेका, रिपोर्ट भएका, सिभिल आइडी नबनेका वा जरिवाना तथा यात्रा प्रतिबन्ध बाँकी रहेका नेपाली श्रमिकको विवरण नियमित रूपमा अद्यावधिक गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा कन्सुलर सेवा विभागसँग जोडिएको सूचना प्रणालीमा पठाउने व्यवस्था गर्न परिषद्ले माग गरेको छ । एनिसीका अनुसार श्रमिकले पुनः श्रम स्वीकृति लिनुअघि नै उनीहरूको कानुनी अवस्था नेपालमै परीक्षण गर्न सकिने प्रणाली विकास गरिए विदेश पुगेर पक्राउ पर्ने, पुनः जेल जानुपर्ने वा अलपत्र पर्ने अवस्था धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
कानुनी जोखिम देखिएमा श्रमिकलाई समयमै जानकारी दिने, आवश्यक जरिवाना बुझाउने, कानुनी प्रक्रिया पूरा गर्ने वा वैकल्पिक सुरक्षित गन्तव्य रोज्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
भेटका क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्रकुमार मण्डलको विषय पनि उठाइएको थियो । तीन करोड रुपैयाँभन्दा बढी 'ब्लड मनि' तिर्न नसक्दा उनी करिब छ महिनादेखि साउदी अरेबियामा अलपत्र परेको उल्लेख गर्दै उनको उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्न परिषद्ले आग्रह गरेको जनाएको छ । त्यसै अवसरमा परिषद्ले श्रममन्त्री यादवलाई कतार भ्रमणको औपचारिक निमन्त्रणा पनि दिएको छ । कतारमा कार्यरत लाखौं नेपाली श्रमिकको वास्तविक अवस्था, कार्यस्थलको सुरक्षा, श्रम अधिकार तथा उनीहरूले भोगिरहेका समस्याको प्रत्यक्ष अध्ययन र अनुगमनका लागि कतार भ्रमण गर्न आग्रह गरिएको परिषद्ले जनाएको छ ।
भेटमा मन्त्री यादवले परिषद्ले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको जनाउँदै श्रमिकका समस्या समाधानका लागि मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको विश्वास दिलाएका छन् । कतार भ्रमणको निमन्त्रणालाई समेत उनले सकारात्मक रूपमा ग्रहण गरेको परिषद्ले जनाएको छ । एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थी र महासचिव शिव भुजेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, न्याय, अधिकार तथा सम्मानजनक रोजगारी सुनिश्चित गर्न नेपाल सरकार, नेपाली नियोग तथा सम्बन्धित निकायबिच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गरिएको छ ।
विश्वका ९० भन्दा बढी देशमा करिब ८० लाख गैरआवासीय नेपाली रहेको र मध्यपूर्वका मुलुकमा मात्रै १७ लाख २५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको जनाउँदै एनसिसीले उनीहरूको हित संरक्षणका लागि प्रविधिमैत्री सूचना प्रणाली, प्रभावकारी कूटनीतिक पहल र श्रमिकमैत्री नीति कार्यान्वयनमा सरकारको विशेष ध्यान जानुपर्ने आवश्यकता औंल्याएको छ ।