२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

Nada
२०८३ साउन १४ गते ११:५४
Shares
शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं : नेकपा एमालेकी संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता अर्यालले सुनसरीमा हालै भएको दुःखद् घटनालाई लिएर सरकार र विशेषगरी प्रधानमन्त्रीको आलोचना गरिन् ।

साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै अर्यालले दंगा नियन्त्रण दमनबाट नभइ संवाद र विश्वासबाट गरिनुपर्ने बताइन् । तर राज्यले संयमता अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाउने काम गरेको उनले आरोप लगाइन् ।

उनले उक्त घटनामा मृत्युवरण गर्ने ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराइन् । अर्यालले विगतका घटनाहरूमा तत्कालीन सरकारलाई दोषी देखाउँदै राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराइन् ।

उनले फौजदारी अभियोगको कुरा गर्नेहरूले आजको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गरिन् । मुलुक संकटमा परेका बेला प्रधानमन्त्री ’बेखबर’ रहेको आरोप लगाइन् । उनले सरकारले ठोस योजना ल्याएमा शान्ति र सद्भाव कायम गर्न एमाले सहकार्य गर्न तयार रहेको भए तापनि सरकारले त्यो तत्परता नदेखाएको बताइन् ।

प्रधानमन्त्रीले विगतमा संसद्‍मा दिएको केही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता अर्यालले राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने कार्य भएको दाबी गरिन् । 

उनले बाढी पहिरो पीडितहरूको राहत र पुनर्स्थापनामा सरकारको सुस्तताप्रति आपत्ति जनाए । साथै, सुकुम्वासीहरूलाई व्यवस्थापन गर्ने नाममा होल्डिङ सेन्टरमा लगेर राख्ने र पछि अमानवीय ढंगले लखेट्ने कार्य राज्यबाट भएको भन्दै उनले सरकारको गैरजिम्मेवार चरित्रको आलोचना गरिन् ।

ताजा खबर

सम्बन्धित खबर