
केही वर्षयता नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै गएको छ । यो अब स्वास्थ्य समस्याभन्दा ज्यादा सामाजिक, आर्थिक र राजनीतिक चुनौतीको विषय बनेको छ । विभिन्न अध्ययनले नेपालका हरेक १० वयस्कमध्ये एकजना र २० बालबालिकामध्ये एकजना कुनै न कुनै मानसिक समस्याबाट प्रभावित रहेको देखाएका छन् । त्योभन्दा पनि चिन्ताजनक तथ्य बितेको एक वर्षमै ६ हजार ८६६ जनाले आत्महत्या गरेका छन् । विज्ञहरूका अनुसार, आत्महत्याका करिब ८० देखि ९० प्रतिशत घटनाको मूल कारण उपचार नपाएको मानसिक स्वास्थ्य समस्या हो । यी तथ्यांकले नेपाली समाजमा निराशा र भविष्यप्रतिको अविश्वास बढ्दै गएको देखाइरहँदा राज्यले प्रर्याप्त चासो दिएको छैन ।
मानिस एक्कासि निरास हुँदैन । निराशा समाजमा बिस्तारै निर्माण हुन्छ । जब नागरिकले मिहिनेत गरे पनि रोजगारी पाउँदैन । व्यवसाय गर्दा घाटा व्यहोर्छ । महँगीले दैनिक जीवन धान्न कठिन हुन्छ । शिक्षा पूरा गरे पनि भविष्य देखिँदैन । त्यतिबेला उसको आशा कमजोर बन्दै जान्छ । त्यसमा राजनीतिक अस्थिरता, सरकार फेरिने क्रम, सुशासनको अभाव, भ्रष्टाचार, न्याय पाउन ढिलाइ र सार्वजनिक सेवाको झन्झटले मद्दत पुर्याउँछ । सामाजिक सञ्जालको अत्यधिक प्रयोग, पारिवारिक संवादको कमी, एक्लोपन र प्रतिस्पर्धात्मक जीवनशैलीले पनि मानसिक दबाब बढाइरहेको छ ।
अहिले हजारौं युवाले अवसरको खोजीमा देश छाडिरहेका छन् । स्वदेशमै बसेका धेरै नागरिक पनि भविष्यप्रति ढुक्क हुन सकिरहेका छैनन् । यो अवस्था आफैंमा उकुसमुकुसको छ । समस्या यतिमै मात्र सीमित छैन । हाम्रो समाजमा मानसिक स्वास्थ्यको विषयमा अझै पनि खुलेर छलफल हुँदैन । धेरै मानिसले मानसिक समस्या लुकाउँछन् । समयमै उपचार पाउँदा निको हुने समस्या पनि जटिल बन्दै जान्छ । गाउँ–गाउँमा विशेषज्ञ चिकित्सकको पहुँच त छैन नै, मनोपरामर्श सेवासमेत पुग्न सकेको छैन । यस्तो अवस्थामा अस्पताल थप्नुले मात्र समाधान दिँदैन । मानसिक स्वास्थ्यलाई सामान्य रोगसरह स्वीकार गर्ने सामाजिक वातावरण बनाउनुपर्छ । विद्यालय, विश्वविद्यालय र कार्यस्थलमा मनोपरामर्श सेवा विस्तार गर्नुपर्छ । परिवारभित्र खुला संवाद हुनुपर्छ । नियमित व्यायाम, स्वस्थ जीवनशैली र सामाजिक सञ्जालको सन्तुलित प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, नागरिकमा भविष्यप्रतिको आशा जगाउने नीति आवश्यक छ । रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार, सुशासन, छिटोछरितो न्याय र प्रभावकारी सार्वजनिक सेवाले नागरिकलाई आशा जगाउँछ । त्यसतर्फ सरकारको यथेष्ट ध्यान जान जरुरी छ ।