२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

आइफोनको विवादले लियो १७ वर्षीय लजिन थापाको ज्यान

Nada
२०८३ साउन १० गते १४:५०
Shares
आइफोनको विवादले लियो १७ वर्षीय लजिन थापाको ज्यान

काठमाडौं : साथीको जन्मदिन मनाउन घरबाट निस्किएका १७ वर्षीय लजिन थापा कहिल्यै घर फर्किएनन् । बागलुङको बडिगाड गाउँपालिका–१ का लजिन साउन १ गते राति साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए । त्यहाँ सात जना साथीहरू राति अबेरसम्म बसेर मदिरा सेवन गरे । तर जन्मदिनको रमाइलो केही घण्टामै विभत्स अपराधमा बदलियो ।

प्रहरीका अनुसार मदिरा सेवनपछि घर फर्किने क्रममा लजिनसँग रहेको आइफोनलाई लिएर विवाद सुरु भयो । यही विवादले हिंसात्मक रूप लियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रेमबहादुर विक र ददी परियारले सुरुमा लजिनलाई मुक्का प्रहार गरे । उनी बेहोस भएपछि ढुंगाले थिचेर हत्या गरेको उनीहरूले बयान दिएका छन् ।

घटनालाई लुकाउन शवलाई स्थानीय मनखोलाको खोल्सामा ढुंगाले थिचेर फालियो । मोबाइल भने लजिनकै पाइन्टको खल्तीमा छाडिएको थियो ।

लजिन घर नफर्किएपछि परिवारले साउन २ गते प्रहरीमा बेपत्ताको निवेदन दिएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय गलकोट, जिल्ला प्रहरी कार्यालय बागलुङ र गण्डकी प्रदेश प्रहरी कार्यालयको संयुक्त टोली अनुसन्धानमा जुट्यो । प्राविधिक विश्लेषण, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा र स्थानीयको सहयोगबाट अनुसन्धान अघि बढाइयो । साउन ९ गते बिहान स्थानीय मनखोलाको खोल्सामा लजिनको शव फेला पर्‍यो ।

अनुसन्धानका क्रममा घटनास्थलबाट चप्पल, स्पिकर, मोबाइल, रगत लागेको ज्याकेट र टिसर्ट लगायतका प्रमाण पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सुदीप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

एउटा आइफोनको लोभ, मदिराको नशा र आवेगपूर्ण हिंसाले १७ वर्षीय किशोरको जीवन समाप्त भएको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाले किशोरहरूमा बढ्दो हिंसा, मदिरा दुरुपयोग र सामान्य विवादले समेत कति भयावह रूप लिन सक्छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ भने पोस्टमार्टम रिपोर्टपछि अभियोग थप स्पष्ट हुने बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर