२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

२ सय ५० महिलालाई ड्राइभिङ तालिम दिने यातायातमन्त्रीको निर्णय

मध्यान्ह
२०८१ साउन १८ गते २१:३५
२ सय ५० महिलालाई ड्राइभिङ तालिम दिने यातायातमन्त्रीको निर्णय

हेटौंडा : बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले महिलाहरुलाई निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।

प्रदेशमा सीपमुलक श्रमको अभिवृद्धि तथा यातायात क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले तालिमको व्यवस्था गर्न लागिएको मन्त्री महर्जनको भनाइ छ । सार्वजनिक यातायातको क्षेत्रमा महिला चालकको सहभागिता बढाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिको आयोजना गर्न लागिएको हो । 

यातायात क्षेत्रलाई समावेशी, मर्यादित एवं सुरक्षित बनाउन महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत रहेर कम्तिमा २५० जना महिलाहरुलाई तीन पांग्रे तथा चार पांग्रे सवारी साधन प्रशिक्षण सीप प्रदान गर्ने मन्त्री महर्जनको भनाइ छ । 

त्यस्तै, मन्त्री महर्जनले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा तीन पटकसम्म फेल भएकाले ९० दिन सम्म कुर्नुपर्ने व्यवस्था खारेज गर्ने पनि निर्णय गरेका छन् । उक्त समय घटाएर १ महिनामा ल्याउने निर्णय गरिएको मन्त्री महर्जनले बताए । सो निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंलाई पत्र समेत पठाइएको उनको भनाइ छ ।

साउन ९ गते नेवारी भाषामा शपथ खाएका यातायात मन्त्री महर्जनले पदभार सम्हाले लगतै मन्त्रालय मातहतका कार्यालय तथा सेवाग्राहीहरुको समस्याको विषयमा चासो देखाएका छन् । 

सोही अनुसार गत सोमबार काठमाडौंमा मातहतका १३ वटा यातायात व्यवस्था कार्यालयका प्रमुखहरुसँग अन्तरक्रिया गरेका थिए । सो क्रममा उपस्थित कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालय तथा सेवाग्राहीहरुको विषयमा जानकारी गराएका थिए । जसमा सेवाग्रहीहरुले सेवा लिनका लागि लामो समय खर्चनु पर्ने, हाल प्रयोग भइरहेको सर्भर डाउन हुने, लाइसेन्स छपाई ढिला हुँदा सेवाग्राहीहरुले भोग्नु परेका लगायतका समस्या राखेका थिए । 

उक्त समस्या समाधानका लागि मन्त्री मर्हजनले अबको केही दिनमा संघीय मन्त्री, बागमती प्रदेशका मन्त्री, सचिव, सम्बन्धित कार्यालयका प्रमुखहरु लगायतका सम्बन्धित व्यक्तिहरुको बैठक बसेर हाल यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

ADV

सम्बन्धित खबर