२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढ्यौं : गगन थापा

Nada
२०८२ पुष १६ गते १३:०६
Shares
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढ्यौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रप्रतिको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान अपरिहार्य भइसकेको बताएका छन् ।

ncell

४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गरेर थापाले आजभन्दा ४९ वर्षअघि विषम राजनीतिक परिस्थितिमा बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको ऐतिहासिक दिनको स्मरण गरेका छन् ।

उनले आम जनताको परिवर्तनप्रतिको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट अभिव्यक्त हुन सकोस् भन्ने कामना व्यक्त गर्दै परिवर्तनको यात्रामा एक–अर्कालाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

महामन्त्री थापाले नेपाली कांग्रेस अहिले राष्ट्रिय भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वासको खोजीमा रहेको उल्लेख गर्दै त्यो आत्मविश्वास पार्टीको एकताबाट मात्र सम्भव हुने स्पष्ट पारे ।
‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ,’ उनले भनेका छन्, ‘र एकता निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू खुला रूपमा व्यक्त गर्न सकिने साझा मञ्चको अभ्यासबाट मात्र सम्भव हुन्छ ।’

उनका अनुसार वर्तमान सन्दर्भमा कांग्रेसको त्यो साझा मञ्च भनेको विशेष अधिवेशन नै हो । विधानतः बाध्यकारी हुनुका साथै पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न विशेष अधिवेशन अनिवार्य बनेको उनको भनाइ छ ।

राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने नेपाली कांग्रेस निर्माण गर्नु हरेक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्दै थापाले सोही जिम्मेवारी पूरा गर्न पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने निर्णयतर्फ पार्टी अघि बढिसकेको जानकारी दिए ।

‘राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘त्यसैले हामी पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेका छौं ।’

साथै उनले सम्पूर्ण पार्टी पंक्तिलाई दृढतापूर्वक हातेमालो गर्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर