२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

निर्वाचन नै संविधान र राष्ट्रियताको रक्षा गर्ने निर्णायक घडी : नेत्री भुसाल

Nada
रामहरि कार्की
२०८२ पुष १५ गते १९:५४
Shares
निर्वाचन नै संविधान र राष्ट्रियताको रक्षा गर्ने निर्णायक घडी : नेत्री भुसाल

ललितपुर : ललितपुरको महालक्ष्मीस्थान मंगलबार राजनीतिक बहस र चिन्तनको केन्द्र बन्यो । नेपाल उद्योग व्यापार महासंघ ललितपुर जिल्लाको दोस्रो जिल्ला अधिवेशनमा बोल्दै पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा(की नेत्री पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनलाई संविधान र राष्ट्रियताको रक्षा गर्ने निर्णायक विकल्पका रूपमा चित्रण गरिन् ।

ncell

उनका अनुसार पछिल्लो समय देशले भोगिरहेको राजनीतिक अस्थिरता, विध्वंसात्मक गतिविधि र त्यसले निम्त्याएको राष्ट्रिय संकटको समाधान लोकतान्त्रिक अभ्यास निर्वाचनमार्फत मात्रै सम्भव छ । भुसालले जेनजी आन्दोलनका क्रममा ६ दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाउनुपरेको स्मरण गराउँदै भदौ २४ गते भएको घटनालाई योजनाबद्ध विध्वंसको संज्ञा दिइन् । राज्यलाई मात्रै ८४ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको उल्लेख गर्दै उनले राजनीतिक दलका कार्यालय, निजी घर र व्यवसायमा भएको क्षतिको लेखाजोखा अझै बाँकी रहेको बताइन् । 

उनको बुझाइमा उक्त घटनाहरू कुनै स्वस्फूर्त देशभक्त आन्दोलन नभई लामो तयारीसहित गरिएको राजनीतिक षड्यन्त्र थियो । ‘यस्ता संकटबाट मुलुकलाई बाहिर निकाल्ने एकमात्र विकल्प फागुन २१ को निर्वाचन हो,’ भुसालले भनिन् । 

तर उनले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न हुने विषयमा अझै आशंका कायम रहेको पनि स्पष्ट पारिन् । सरकारकै दायित्व निर्वाचनको वातावरण निर्माण गर्नु रहेको भन्दै उनले सबै दलले निर्बाध रूपमा जनतामाझ पुग्न पाउने परिस्थिति सुनिश्चित गर्न आग्रह गरिन् । समानुपातिकतर्फको उम्मेदवारी दर्ताले निर्वाचन हुने संकेत दिएको उनको विश्लेषण थियो ।

इतिहासका ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेका दलहरूलाई ‘खतम’ भइसकेको भ्रम समाजमा फैलाइएको भन्दै भुसालले चिन्ता व्यक्त गरिन् । उमेरले मात्रै नयाँ हुँदैमा दीर्घकालीन दृष्टि, विचार र ऐतिहासिक विरासत नबोक्ने शक्तिबाट आमूल परिवर्तन सम्भव नहुने उनको तर्क थियो । सूचना प्रविधिको दुरुपयोगबाट भ्रमलाई सत्यझैं प्रस्तुत गर्ने प्रवृत्तिले राजनीतिमा थप चुनौती सिर्जना गरेको उनको भनाइ थियो । 

‘विचार र सिद्धान्तविहीन लोकप्रियताले राजनीति कब्जा गर्ने खतरा बढेको छ,’ उनले भनिन्, ‘प्रविधि सही सूचनाको माध्यम पनि बन्न सक्छ, यदि हामीले भ्रम चिर्दै सत्यलाई जनतासम्म पुर्‍याउन सक्यौं भने मात्रै उपलब्धि सम्भव हुन्छ ।’

उनले देशका सबैभन्दा ठूला पूँजीपति वर्गका व्यक्तिहरू ‘रास्वपा’को समानुपातिक सूचीमा समेटिएको तथ्य उल्लेख गर्दै त्यस्ता शक्तिहरूले साना तथा मझौला वर्गको हित प्रतिनिधित्व गर्न नसक्ने दाबी गरिन् । राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको वास्तविक मालिक नेपाली जनता भएको उल्लेख गर्दै भुसालले विगतमा पछाडि पारिएका समुदायलाई नीतिगत रूपमा मूलधारमा ल्याउने काम गरिएको स्मरण गराइन् । तर जनताको सार्वभौमसत्ताबाट बनेको संविधान आज संकटमा परेको उनको निष्कर्ष थियो ।

ललितपुर जिल्लाको सांस्कृतिक, कलात्मक र ऐतिहासिक पहिचानतर्फ संकेत गर्दै उनले गाउँ र सहर जोडिएको यस जिल्लाले स्थानीय कच्चा पदार्थमा आधारित उद्यम व्यवसायमार्फत इतिहास र आधुनिकतालाई जोड्दै अग्रगामी भूमिका खेल्नुपर्ने धारणा राखिन् । साना तथा मझौला उद्यमीको पेशागत समस्या समाधानका लागि सामूहिक सौदाबाजी र जिल्लाको विशिष्टताअनुसार योजना निर्माण गर्न सक्ने गतिशील नेतृत्व आवश्यक रहेको उनको आग्रह थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित)ले साना व्यापारीहरू एकजुट हुँदा व्यवसाय सञ्चालनका क्रममा देखिने समस्या समाधान गर्न सहज हुने बताए । उनले अधिवेशनबाट चुस्त र प्रभावकारी समिति निर्माण गरी महासंघलाई पालिकास्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले मुलुकमा व्याप्त कुशासनकै कारण व्यापार र लगानीको वातावरण बिग्रिएको गुनासो गरे । राज्यले व्यवसायमैत्री नीतिगत व्यवस्था गर्न नसकेको भन्दै महासंघले साना व्यवसायीको हितमा निरन्तर आवाज उठाउँदै आएको उनको भनाइ थियो ।

महासंघ बागमती प्रदेशका महासचिव सन्तोष पौडेलले २०७९ असार ३० गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संस्था क्रियाशील रहेको जानकारी दिए । संस्थागत विकासमार्फत साना व्यवसायीका समस्या समाधान र उत्पादनसँग जोडिएको समाजोन्मुख अर्थतन्त्र निर्माणमा महासंघ सक्रिय रहेको उनले बताए ।

ललितपुर जिल्ला अध्यक्ष राज घिमिरेले महासंघलाई साना तथा मझौला व्यवसायीको वास्तविक हित प्रतिनिधित्व गर्ने संस्थाका रूपमा सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । फागुन २१ को निर्वाचनलाई केन्द्रमा राखेर उठेका यी आवाजहरूले लोकतन्त्र, संविधान र राष्ट्रियताको बहसलाई अझै तीव्र बनाइरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर