२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

चुनावअघि विशेष महाधिवेशन हुँदैन : देउवा

Nada
२०८२ पुष १५ गते १२:४९
Shares
चुनावअघि विशेष महाधिवेशन हुँदैन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक चुनावी प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा विशेष महाधिवेशन सम्भव नहुने स्पष्ट पारेका छन् । मंगलबार केही पत्रकारसँगको अनौपचारिक भेटमा देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्र मतभेद बढ्ने र त्यसको असर निर्वाचनमा पर्ने चिन्ता व्यक्त गरेका हुन् ।

ncell

उनका अनुसार पार्टी अहिले निर्वाचन जित्ने लक्ष्यमा केन्द्रित हुनुपर्ने बेला हो । यस्तो अवस्थामा महाधिवेशन गर्दा आन्तरिक प्रतिस्पर्धा चर्किएर विभाजनसम्मको अवस्था आउन सक्ने देउवाको भनाइ छ ।

‘मुलुक चुनावमा गइसकेको छ। यस्तो बेला महाधिवेशन गर्दा पार्टीभित्र विभाजन हुन्छ,’ देउवाले भने, ‘महाधिवेशन हार्नेहरू चुनाव हार्न लाग्छन् र अन्ततः हार्छन् ।’

चुनावअघि विशेष महाधिवेशन नहुने पुनः दोहोर्‍याउँदै देउवाले आफूले चुनावपछि महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिएको बताए । ‘विशेष महाधिवेशन चुनावअघि हुँदैन,’ उनले भने, ‘नगरी हुँदैन भन्ने हो भने मैले के भन्नु ? कार्यवाहक दिएकै छु । जे गरे पनि केही भएन । मेरो सुझाव मानेनन् भने के गर्नु ?’

उनले चुनाव अगाडि महाधिवेशन गरिए त्यसले पार्टीको एकतालाई कमजोर बनाउने र निर्वाचनमा नकारात्मक असर पर्ने तर्क गरे । यद्यपि पार्टीले चाहेमा आफू बाधक नबन्ने पनि उनले स्पष्ट पारे ।

‘निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने नै हो भन्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।’

देउवाले आफू १५औं महाधिवेशनको प्रतिस्पर्धी नभएको पनि बताए । विधानअनुसार आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र व्यक्तिगत चाहना पनि नभएकाले तटस्थ रहने तथा अन्य नेताहरूलाई प्रोत्साहन मात्र गर्ने उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर