२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

Nada
२०८२ पुष १० गते १९:३१
Shares
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौं : नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

ncell

सञ्चारकर्मीसँग बिहीबार भेटघाटका क्रममा उनले पार्टीको १४औं महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरेको भए पनि सफलता प्राप्त नभएको अवगत गराउँदै १५औं महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन् । 

पार्टीभित्र कुन समूहबाट उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘महामन्त्रीको उम्मेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ, अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन, तर मुलुकको वतर्मान परिस्थिति र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुन्छ ।’

सो अवसरमा नेता पौडेलले पार्टीको १५औं महाधिवेशन सम्पन्न गरेर मात्र कांग्रेस नयाँ नेतृत्वका साथ आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा जानुपर्ने बताए । 

उनले महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाई पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । उनले आमनिर्वाचनले नै मुलुकको अहिलेको राजनीतिको दीर्घकालीन समाधान गर्ने बताउँदै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले चुस्त सुरक्षाको व्यवस्था र आवश्यक अन्य काम गर्नुपर्ने उल्लेख गरे । 

कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । तर हाल तोकिएको मितिमा महाधिवशेनको कार्यतालिका प्रभावित भएपछि समयाभावका कारण महाधिवेशनको मिति केही पर धकेलिने निश्चित देखिएको छ । यही प्रसंगमा नेता पौडेलले पार्टीका आठ तहका निर्वाचनमध्ये हाललाई तीन तहका निर्वाचन सम्पन्न गरेर भएपनि १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिएका छन् ।

पौडेलले भने, ‘महाधिवेशनको अहिलेको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नैपर्छ ।’ –रासस 

ताजा खबर

सम्बन्धित खबर