२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास तीव्र, बालेन–रवि–सुनिलसहितका नेताहरू छलफलमा

Nada
२०८२ पुष १० गते १२:५७
Shares
वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास तीव्र, बालेन–रवि–सुनिलसहितका नेताहरू छलफलमा

काठमाडौं : आसन्न निर्वाचनलाई लक्षित गर्दै मुलुकमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका प्रयासहरू तीव्र बन्दै गएका छन् । सोही क्रममा विभिन्न दल र अभियानसँग आबद्ध प्रभावशाली व्यक्तित्वहरू छलफलका लागि भेला हुन थालेका छन् ।

ncell

ललितपुरको कुपण्डोलस्थित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका सहयोगी कुमार बेन्जनकारको निवासमा बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, महानगर प्रमुख बालेन शाह, नेपाली कांग्रेसका नेता डा. सुनील शर्मा, जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङलगायत सहभागी भएर छलफलमा जुटेका हुन् ।

छलफलमा वैकल्पिक राजनीतिक अभियान चलाइरहेका सागर ढकाल पनि सहभागी भएका छन् भने सुदन गुरुङ यसअघि नै त्यहाँ पुगिसकेका थिए । रास्वपा सभापति लामिछानेसँगै असिम शाह र गणेश कार्की पनि छलफलमा उपस्थित छन् ।

यसअघि सोमबार राति रवि लामिछाने र बालेन शाहबीच लामो समय छलफल भएको थियो । उक्त भेटपछि बिहीबारको छलफलमा अन्य राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूलाई पनि सहभागी गराइएको हो ।

सोमबारको भेटमा यसपटक सरकारको नेतृत्व बालेन शाहले गर्ने र पार्टीको नेतृत्व रवि लामिछानेले सम्हाल्ने प्रस्ताव आएको चर्चा सार्वजनिक भएको थियो । त्यसैगरी आगामी निर्वाचनपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले साथ दिने विकल्पबारे पनि छलफल भएको उनीहरू निकट स्रोतहरूले बताएका थिए । यद्यपि ती प्रस्तावमा ठोस सहमति भने भइनसकेको बताइन्छ ।

पछिल्ला केही दिनयता मेयर बालेन शाहको राजनीतिक सक्रियता उल्लेख्य रूपमा बढेको देखिएको छ । रवि लामिछानेसँगको भेटपछि उनले विभिन्न राजनीतिक शक्ति, जेनजी अभियन्ता तथा सामाजिक क्षेत्रका व्यक्तिहरूसँग निरन्तर संवाद गरिरहेका छन् । बिहीबार मात्रै उनले ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेटघाट गरेका छन् ।

बुधबार मध्यरातसम्म चलेका भेटघाटमा डा. भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसफाइ तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्वसचिव भीम उपाध्याय, पूर्व विवेकशील साझा नेता मिलन पाण्डे लगायतको सहभागिता रहेको थियो । त्यस्तै कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला र सञ्चार उद्यमी कैलाश सिरोहियासमेत छलफलमा जोडिएका थिए ।

चुनावको मिति नजिकिँदै जाँदा स्थापित दलहरूभन्दा फरक धारको राजनीतिक समीकरण बनाउने प्रयास तीव्र बन्दै गएको संकेत यी छलफलहरूले दिएका छन् । आगामी दिनमा यो संवाद कुन रूप लिन्छ भन्नेमा राजनीतिक वृत्तको चासो बढ्दै गएको छ ।

ताजा खबर

सम्बन्धित खबर