२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

आयोगले सम्पन्न गर्‍यो निर्वाचनसम्बन्धी ७० प्रतिशत काम 

Nada
२०८२ पुष १ गते २१:२५
Shares
आयोगले सम्पन्न गर्‍यो निर्वाचनसम्बन्धी ७० प्रतिशत काम 

काठमाडौं : निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । 

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उनले  तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटका साथ लागेको र अब पनि दृढ अठोटका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले भने, ‘राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि नै आयोगले शून्यबाट उठेर काम सुरु गरेकामा हालसम्म करिब ७० प्रतिशत काम भएको छ । निर्वाचनको वातावरण बनिरहेको छ । निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । त्यसमा हामी लागिरहेका छौं ।’

उनले निर्वाचनको लागि संविधान, ऐन/कानुन पुरानो भएको र प्रविधि र केही पद्धति परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भ आएको उल्लेख गर्दै विभिन्न माग राख्दै हरेक दिन  दुई/चार वटा ज्ञापनपत्र आउने गरेको बताए । कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगसँग मात्रै सम्बन्धित ऐन/कानुन, नियमलाई संशोधनमार्फत सहज बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा खर्चको नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राखेको जिज्ञासामा भण्डारीले मितव्ययी ढंगले खर्च गर्न आयोग सचेत रहेको बताए । उनले भने, ‘नागरिक सरकारले खर्च नियन्त्रण गर्न अघि सारेका सवालमा आयोग तयार छ, सरकारी कोषबाट हुने खर्च हामीले अत्यन्त मितव्ययी ढंगले गर्छौं, यसअघि २०७९ सालमा भएका दुई वटा निर्वाचन पनि सोही नीतिअनुसार काम गरेर देखाइसकेका छौं । अब दल र दलका उम्मेदवारले गर्ने खर्चको हकमा पनि कडाइका साथ सीमा तोक्छौं ।’ उम्मेदवारले गर्ने खर्चको सवालमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको संख्याको आधारमा खर्च गर्न दिने गरिएको भण्डारीको भनाइ  छ । –रासस

laxmi recruitement

सम्बन्धित खबर